मुख्य समाचार
रास्वपा सांसदहरूले अनुशासन उल्लंघन गरे पार्टी विधानमा रहेको ‘राइट टु रिकल’ व्यवस्था कडाइसाथ लागू गर्ने सभापति रवि लामिछानेले बताए
रास्वपा सांसदहरूले अनुशासन उल्लंघन गरे पार्टी विधानमा रहेको ‘राइट टु रिकल’ व्यवस्था कडाइसाथ लागू गर्ने सभापति रवि लामिछानेले बताए

— रास्वपा सांसदहरूले अनुशासन उल्लंघन गरे पार्टी विधानमा रहेको ‘राइट टु रिकल’ व्यवस्था कडाइसाथ लागू गर्ने सभापति रवि लामिछानेले बताएका छन् । रास्वपाले आफ्ना नवनिर्वाचित सांसदका लागि ललितपुरमा आयोजना गरेको अभिमुखीकरण र परिचयात्मक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले सांसदबाट फिर्तासम्मको कारबाही हुने व्यवस्था विधानमा रहेको स्पष्ट पारेका हुन् ।

‘सरकार दुईतिहाइको छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, संख्या घट्ला, अल्पमतमा पर्ला भन्ने कुराको परवाह नगरी रास्वपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको ‘राइट टु रिकल’ को व्यवस्थालाई यस पटक कडाइका साथ लागू गर्नेछ,’ सांसदहरूलाई सचेत गराउँदै लामिछानेले भने । सांसदहरूलाई अनुशासित भएर स्वतन्त्रता उपयोग गर्न उनले सुझाए ।

रास्वपा विधानको दफा ६९ मा जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको व्यवस्था छ । ‘पार्टीका सम्बन्धित क्षेत्रका साधारण सदस्यहरूलाई आफ्ना जनप्रतिनिधिले चित्तबुझ्दो काम नगरे फिर्ता बोलाउन पाउने अधिकार हुनेछ । केन्द्रीय समितिले बनाउने नियमावलीबमोजिम सम्बन्धित क्षेत्रको साधारण सदस्यहरू निश्चित संख्या वा प्रतिशतले निर्णय गरे पार्टीको केन्द्रीय समितिले सम्बन्धित जनप्रतिनिधिको पदको खारेजीलाई प्रक्रिया सुरु गरिनेछ,’ उक्त दफामा उल्लेख छ ।

पार्टीका समानुपातिक जनप्रतिनिधिले पार्टी हितविपरीत काम गरेमा वा कार्यसम्पादन मूल्यांकनका आधारमा वा अन्य मनासिब कारण भएमा केन्द्रीय समितिले फिर्ता बोलाउन सक्ने व्यवस्था पनि उक्त दफामा छ । ‘केन्द्रीय समितिले नियमावलीबमोजिम जनप्रतिनिधिको पद खारेजीसम्मको प्रक्रिया गर्नेछ,’ विधानमा भनिएको छ ।


सांसदका अभिव्यक्तिले देशको अर्थतन्त्र, वैदेशिक सम्बन्धमा असर पर्ने भन्दै अभिभावकका रूपमा सचेत गराउन खोजेको सभापति लामिछानेको भनाइ थियो । ‘एउटा स्वतन्त्रता हुन्छ, एउटा अनुशासन हुन्छ । यसबीचको एउटा पातलो रेखा छ । त्यो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ । तपाईंहरूको स्वतन्त्रता हरण गर्ने पार्टीको कुनै पनि उद्देश्य छैन । पार्टी सभापतिका रूपमा मेरो कुनै आपत्ति छैन । तपाईंको स्वतन्त्रता सदुपयोग गर्नुहोस् तर अनुशासित भएर,’ उनले भने ।

कार्यक्रममा लामिछानेले पार्टी, देशवासी, अन्तर्राष्ट्रिय समुदाय, निजी क्षेत्रलगायतलाई सम्बोधन हुने गरी मन्तव्य राखेका थिए । उनले पार्टीका सांसदहरूलाई झन्डै दुईतिहाइ मत आयो भन्ने मातमा नरहन सचेत गराए । विगतमा पार्टीको चुनाव चिह्न ‘घण्टी’ लगायत विषयमा स्थापित राजनीतिक शक्तिबाट नै प्रहार भएको र पार्टीलाई जोगाएर ल्याएको सभापति लामिछानेले सुरुवातमै सम्झिए । देशका सम्पूर्ण शक्ति एक ठाउँमा उभिँदा पनि खुट्टा नकमाई यहाँसम्म पार्टीलाई ल्याएको र त्यसका पछाडि नागरिकको चेतनामाथिको विश्वासले काम गरेको लामिछानेले बताए ।

लामिछानेले पुराना दलहरूले बसालेको राजनीतिक संस्कारमा नपर्न सांसदहरूलाई आग्रह गरेका थिए । उनले सांसदहरूलाई पदका लागि गुट बनाउनेतिर नलाग्न सचेत गराए । ‘शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ । नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले ३६ वर्षसम्म कुरे, तपाईं–हामीलाई ३६ महिना, ३६ दिन पनि कुर्नेवाला छैनन्, यो कुरामा निर्धक्क हुनुहोला,’ लामिछानेले भने, ‘तपाईंहरूको दौड स्वार्थ समूहका घरघरमा हैन, गुट बनाएर कांग्रेस एमालेलाई जितिँदैन साथी हो, कुनै गुट बनाउनु पर्दैन । घण्टीका मुनि सबै अटाउन सक्छौं ।’

संसद् र सरकारमा आफूले के पाउने भन्ने ‘म’ केन्द्रित राजनीतिमा नलागेर देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्न नसकिए रास्वपाको हविगत पुराना राजनीतिक दलका नेताहरूको भन्दा पनि खराब हुने भन्दै उनले सांसदहरूलाई सचेत गराएका थिए । प्रतिनिधिसभा निर्वाचनबाट अभूतपूर्व जनमत प्राप्त भएको बताउँदै लामिछानेले पार्टीमा फुट ल्याउन खोज्ने शक्तिहरूबाट सचेत रहन आग्रह गरे । ‘अभूतपूर्व जनमत प्राप्त गरेसँगै अब यिनीहरूबीच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ–ठाउँबाट प्रयास भएको तपाईंहरू हेर्नुहुन्छ होला नि, समाचारभित्रका नियतहरू पनि त हेर्न सकिन्छ नि कहिलेकाहीँ त । त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ,’ उनले भने ।

सांसदहरूलाई सञ्चारमाध्यममा अभिव्यक्ति दिँदा सचेत रहन र विगतको पेसाको ‘ह्याङओभर’ बाट मुक्त हुन पनि सभापति लामिछानेले आग्रह गरेका थिए । ‘अब तपाईं हिजोको मान्छे होइन, जिम्मेवार सांसद, राजनीतिकर्मी हो । अब भूमिका परिवर्तन भएको छ । होइन म अभियन्तै हुँ भन्ने लाग्छ, पुरानो पेसाकर्मी हुँ भन्ने लाग्छ, हिजोकै जसरी अभिव्यक्ति दिन्छु भन्ने लाग्छ भने तपाईंहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ,’ उनले भने ।

सभापति लामिछानेले यस पटक पार्टीबाट राई, लिम्बू समुदायको प्रतिनिधित्व संसद्मा हुन नसकेकामा क्षमा मागेका थिए । ‘म दुःखका साथ क्षमायाचना गर्दै भन्छु– हाम्रो पार्टीभित्र राई, लिम्बू समुदायको प्रतिनिधित्व यो पालि सम्भव हुन सकेन । सभापतिका हिसाबले म क्षमा माग्न चाहन्छु र विश्वासका साथ भन्न चाहन्छु, आगामी दिनमा समावेशिताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अगाडि बढाउनेछौं,’ उनले भने ।

सभापति लामिछानेले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्धता जनाए । ‘म लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्छु । वर्तमान व्यवस्था संविधानप्रति प्रतिबद्ध छु । शासकीय स्वरूपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ तर वर्तमान व्यवस्था, संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन, डगमगाउनेवाला पनि छैन,’ उनले भने । सांसदहरूलाई पनि संविधान र व्यवस्थाप्रतिको प्रतिबद्धतामा आँच आउने काम नगर्न उनले आग्रह गरेका थिए ।

सभापति लामिछानेले इतिहासमा योगदान गरेका राजनीतिक दल र नेताहरूको सम्मान गर्नुपर्ने बताए । पुराना दल र नेताहरूलाई अपमानित गर्ने अभिव्यक्ति दिनबाट बच्न पनि उनले सांसदहरूलाई आग्रह गरेका थिए । रास्वपाका नेताका अभिव्यक्तिहरूमा कुनै पनि राजनीतिक दल र विपक्षीप्रति कटाक्ष भयो भने त्यो अनर्थ हुने उनको भनाइ थियो । ‘आज विजयको उन्मादमा हाम्रा समर्थक साथीहरूले विपक्षीप्रति विभिन्न माध्यमहरूमा जुन ढंगले अभिव्यक्ति दिइरहनुभएको कताकता देखिएको छ, त्यो कदापि स्वीकार्य छैन । विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा हुनु हैन,’ लामिछानेले भने । रास्वपामाथि लागेको ‘अराजक’ भन्ने आरोपको खण्डन व्यवहारबाट दिनुपर्ने उनले बताए ।

एकल पार्टीको सरकार गठनको पूर्वसन्ध्यामा रास्वपा सभापति लामिछानेले निजी क्षेत्रदेखि अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्ने प्रयास गरे । रास्वपाले सरकारको नेतृत्व गर्दै गर्दा विधिको शासन हुने र त्यसैका आधारमा चल्नुपर्ने उनको भनाइ थियो । निजी क्षेत्रलाई निर्धक्क भएर काम गर्न र विदेशमा रहेर नेपालमा लगानी गर्न चाहनेलाई आउन उनले आह्वान गरे ।

उनले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गरेका थिए । ‘अन्तर्राष्ट्रिय समुदायलाई पनि म यत्ति भन्न चाहन्छु कि नेपाल लगानी गर्न सुरक्षित छ । तपाईं र तपाईंको लगानी यो देशमा सुरक्षित हुन्छ । निर्धक्क हुनुहोला, कुनै पनि किसिमको बाधा अड्चन हुनेछैन,’ लामिछानेले भने, ‘तपाईंलाई कुनै अमूक नेता वा पार्टीले संरक्षण गर्दैन । तपाईंलाई देशको नीतिले संरक्षण गर्नेछ । नीतिगत रूपमा तपाईं, हामी संरक्षित हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं बुढानिलकण्ठका हरिप्रसाद गौतम गत माघमा बाथरुममा लडेर खुट्टामा चोट लागेपछि उनका छोरा बसन्त गौतमले उपचारका लागि ओम अस्पताल चाबहिल लगेका थिए । अस्पतालको इमर्जेन्सी कक्षका चिकित्सकले सामान्य परीक्षणपछि दुखाइ कम गर्ने औषधि दिएर उनलाई डिस्चार्ज गर्छन् । तर, घर गएको ४ दिनसम्म पनि हरिप्रसादको दुखाइ कम भएन । उनी फेरि मण्डिकाटारस्थित ह्याम्स अस्पतालमा भर्ना ...
— बुधबार दिउँसो भएको सवारी दुर्घटनामा उदयपुरमा एक जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा खोटाङको बराहपोखरी गाउँपालिका–५ का ३० वर्षीय भूपाल राईको मृत्यु भएको हो । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल ...
सुर्खेतको वीरेन्द्रनगरमा एक किशोरी इनिसा विकमाथि भएको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै धनकुटास्थित विभिन्न अधिकारवादी संघ-संस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्
— पछिल्लो समय राउटे समुदायमा एकल महिलाको संख्या बढिरहेको पाइएको छ । २०७५ सालयताको तथ्यांक हेर्ने हो भने राउटे समुदायमा १७ जना महिला एकल बनेका छन् । खास गरी सानो उमेरमै उनीहरू एकल बनेको देखिन्छन् । राउटे बस्तीमा एकपटक विवाह भएपछि अर्कोपटक विवाह गर्ने चलन छैन । त्यसैले कम उमेरमा एकल बनेका राउटे महिला एकल ...
— जेनजी आन्दोलन र प्रदर्शनपछि कपिलवस्तु कारागारमा आगजनी गरी फरार भएका मायादेवी गाउँपालिका–६ का १९ वर्षे सद्दाम हुसेन फकिर मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेका छन् । समूह बनाएर मोटरसाइकल चोरी गर्दै आएका उनी भदौ २५ गते बिहान कारागारबाट भागेका थिए । उनी कारागारबाट भागेपछि आफ्ना दशी प्रमाण नष्ट गर्ने भन्दै अदालतमा गएर आगजनी गर्ने नाइकेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम