मुख्य समाचार
महाकाली नदीमा व्यावसायिक रूपमा र्‍याप्टिङ सुरु
महाकाली नदीमा व्यावसायिक रूपमा र्‍याप्टिङ सुरु

— वारि भीमदत्त नगरपालिका–९ मुसेट्टी नजिकै चुरेमा पर्ने कवानीको डाँडो । पारि भारततर्फ उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने पूर्णागिरि माताको मन्दिर । बीचमा महाकाली नदी । कवानी र पूर्णागिरिको बीचमा महाकाली शान्त भएर बगिरहेछ ।

त्यही नदी शान्त भएर बग्ने छेउकै बगरमा र्‍याप्टिङ गाइड किसन भाटले र्‍याप्टिङ गर्नेलाई आचारसंहिता सुनाउँदै थिए । उनले र्‍याप्टिङ गर्दा अपनाउनुपर्ने सावधानी र गर्न नहुने कामबारे जानकारी दिए । सबैले लाइभ ज्याकेट, हेल्मेट पहिरिनुका साथै हातमा पैडल पनि समातेका थिए । ती सबैका बारेमा पनि गाइड भाटले जानकारी दिए ।

गाइडले सबै जानकारी दिएपछि आवश्यक तयारीसहित र्‍याप्टमा सबै महाकालीमा बग्न थाले । सबैले हातमा पैडलले पानी काट्दै अगाडि बढे । केहीबेर शान्त नदी नजिकै जलविहारपछि सबै पानीसँगै बग्न थाले ।

भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टीमा सोमबार यस्तै दृश्य देखियो । ५ वटा र्‍याप्टिङ बोटमा कम्तीमा ४० जनाले साहसिक जलयात्रा गरे । उक्त क्षेत्रमा सोमबारदेखि नै व्यावसायिक रूपमा र्‍याप्टिङ सुरु गरिएको हो । गैरसरकारी संस्था निड्स नेपालको पहलमा भीमदत्त नगरपालिका, नेपाल पर्यटन बोर्ड लगायतको सहकार्यमा नियमित रूपमा सञ्चालन हुने गरी जलयात्रा सुरु गरिएको हो ।

महाकाली सीमा नदी हो । सीमा नदीको पानीको बाँडफाँटदेखि अनेक मुद्दा थाती छन् । भीमदत्त नगरपालिका–९ को पारिपट्टि भारतीय व्यवसायीहरूले नियमित रूपमा र्‍याप्टिङ गर्दै आएका छन् । नेपालतर्फ पनि र्‍याप्टिङका लागि प्रयास नभएको होइन । २०७७ देखि नै संघसंस्था र स्थानीय तहले प्रयास गर्दै आएका थिए । विगतमा परीक्षणका रूपमा मात्रै हुने भए पनि यसपटकदेखि व्यावसायिक रूपमै सुरु गरिएको र्‍याप्टिङ गाइड भाटले बताए ।

‘अब बर्खा नलागेसम्म नियमित र्‍याप्टिङ गरिनेछ,’ उनले भने, ‘हामीले यही क्षेत्रमा तालिम लिनेदेखि अभ्यास लगायतका सबै काम गरेका छौं, निकै मिहिनेत गरेर यो क्षेत्रमा र्‍याप्टिङ सुरु गर्न सकिएको हो ।’ उनले स्थानीय स्तरमै युवाहरूले गाइडको तालिम लिएर महाकाली नदीमा व्यावसायिक रूपमै र्‍याप्टिङ सुरु गर्न सकिएको बताए । उनीसहित तीन जनाले र्‍याप्टिङ गाइडको तालिमसँगै विभिन्न क्षेत्रमा पुगेर अभ्याससमेत गरिसकेका छन् ।

सोमबार नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बुलगायत जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा र्‍याप्टिङको शुभारम्भ गरिएको हो । शुभारम्भमा एक दर्जन बढी र्‍याप्टिङ प्याकेज बिक्री भएको गाइड भाटले बताए ।

भीमदत्त नगरपालिका-९ मुसेट्टीदेखि खल्लासम्म करिब ३ किलोमिटरको दूरी छ । उक्त दूरीमा र्‍याप्टिङ गर्न १५ मिनेटदेखि आधा घण्टासम्म लाग्छ । र्‍याप्टिङदेखि सुनसान रूपमा नदी बग्नेसम्मका दृश्य यो क्षेत्रमा पर्छन् । यसकारण यहाँ र्‍याप्टिङ गर्न धेरै गाह्रो छैन ।

‘महाकाली सीमा नदी हो, यसमा हाम्रो उपस्थिति पनि आवश्यक छ, त्यसका लागि पनि र्‍याप्टिङ सुरु गर्नु उपयुक्त देखिन्छ,’ नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्टले भने, ‘पर्यटन बोर्डले यहाँको र्‍याप्टिङको प्रवर्द्धका लागि विशेष योजना ल्याउनेछ, आगामी वर्ष नेपाल–भारत र्‍याप्टिङ प्रतियोगिता आयोजना गर्ने मैले सोच बनाएको छु ।’ उनले उक्त प्रतियोगितासँगै सेलिब्रिटीहरूलाई ल्याएर र्‍याप्टिङ गराएर पनि यसको प्रचारप्रसार गरिने बताए ।

‘यहाँ र्‍याप्टिङ पर्यटनको निकै राम्रो सम्भावना छ, त्यसका लागि नगरपालिकाले भौतिक पूर्वाधारको विकासमा काम गरिरहेको छ,’ भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले भने, ‘सडक निर्माणका लागि पनि नगरपालिकाले काम गरिरहेको छ ।’ उनले नगरपालिकाको बजेटले मात्रै भौतिक पूर्वाधारका विकास सम्भव नभएकाले प्रदेश र संघीय सरकारको सहयोग पनि आवश्यक रहेको बताए ।

मुसेट्टीदेखि खल्ला र डडेलधुराको परशुराम नगरपालिकामा पर्ने परशुरामदेखि खल्लासम्म गरी छोटो र लामो दूरीका र्‍याप्टिङका लागि दुईवटा प्याकेज निर्माण गरिएको छ । पारि भारततर्फ नियमित रूपमा र्‍याप्टिङ सञ्चालनमा रहेकाले नेपालतर्फ पनि नियमित रूपमा राम्ररी सञ्चालन गर्न सके स्थानीय स्तरमा रोजगारीसँगै आय आर्जनमा सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देश हाँक्नु र ५० वर्षका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठूलो ...
। पश्चिम एसिया युद्धको असर नेपालको पर्यटक आगमनमा देखिएको छ । नेपालको पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रिलमा पर्यटक आगमनमा ७.३ प्रतिशतको गिरावट आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ अप्रिलमा १ लाख ७ हजार ९ सय ३४ पर्यटक भित्रिएका छन् । जुन २०२५ अप्रिलको तुलनामा ७.३ प्रतिशतको गिरावट हो । गत वर्ष अप्रिलमा १ ...
। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चालु आवको नौ महिनामा पाँच हजार २९५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना ...
। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण मोडमा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा बोल्दै भट्टले निजी क्षेत्र र सरकार दुवै फरक–फरक वित्तीय तथा संरचनागत दबाबमा रहेको भन्दै मुलुकको अर्थतन्त्र मुख्यतः तीनवटा गम्भीर ‘पासो’ (ट्रयाप) मा फसेको बताएका हुन् । भट्टले पहिलो पासोका रूपमा निजी क्षेत्र ...
। पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी बजेटका सन्दर्भमा गरेको छलफलमा उनले उत्पादनशील क्षमता बढाउने र व्यावसायिक लागत घटाउने दिशामा केन्द्रित रहेर आगामी बजेट ल्याउनुपर्ने बताएका हुन् । खनालका अनुसार आगामी बजेटमा सरकारले कर प्रणालीमा व्यापक सुधार ...