— सोमबार रातिको आँधीहुरीले विद्युत लाइन र ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध धनकुटा बजारको विद्युत आपूर्ति ४८ घण्टापछि सुरु भएको छ ।विद्युत आपूर्ति नहुँदा बुधबार जिल्ला प्रशासनसहित विभिन्न सरकारी कार्यालयको कामकाज प्रभावित बनेको थियो ।
धनकुटाको हिले, सिधुवा, पाख्रीबास, जोरपाटी, भेडेटार र मूलघाट क्षेत्रमा सम्बन्धित फिडरमार्फत मंगलबार साँझदेखि नै विद्युत आपूर्ति पुनःस्थापना गरिए पनि सदरमुकामको मुख्य बजारमा भने सेवा अवरुद्ध थियो ।
नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख बिजुलीप्रसाद यादवका अनुसार ढलेका पोल, चुडिएका तार र बिग्रिएका ट्रान्सफर्मर मर्मत गर्दै विद्युत सञ्चालनमा ल्याइएको हो ।
यद्यपि, सुरु भएका क्षेत्रमा पनि विद्युत आपूर्ति अझै नियमित हुन सकेको छैन । ट्रिपिङका कारण कतिपय स्थानमा बिजुली आउने जाने समस्या कायमै रहेको उनले बताए । 'कतै फ्युज उडेको छ, कतै उपकरण जलेका छन्, त्यसैले पूर्ण रूपमा नियमित गर्न अझै समय लाग्छ,' यादवले भने।
उनका अनुसार विद्युत सर्ट हुन नदिन प्राविधिक टोलीलाई विभिन्न स्थानमा खटाएर सूक्ष्म रूपमा अनुगमन र मर्मत भइरहेको छ।
विद्युत सेवा पुनःस्थापना भए पनि केही इन्टरनेट सेवा प्रदायकका सेवा अझै अवरुद्ध छन् । विद्युत आपूर्ति स्थिर भएपछि इन्टरनेट सेवा पनि मर्मत गरेर सञ्चालनमा ल्याइने सेवा प्रदायकहरूले जनाएका छन् ।