: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत हुने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने जानकारी दिएका हुन्।
सभापति थापाले निर्वाचन मतपरिणामका सवालमा 'नैतिक जिम्मा लिन्छु' भन्नु नै सकारात्मक रहेको उनको भनाइ छ। 'यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो। बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ। डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन,' उनले भनेका छन्।
फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले सोचेअनुरुप सिट जित्न नसकेपछि सभापति थापाले राजीनामा दिएका थिए। निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कूल ३८ सिट जितेको छ।