: लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठान जिल्लामा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गरेका छन् । बिहीबार प्रदेश सरकारमार्फत सञ्चालनमा रहेका सडक र पुल आयोजनाहरूको अनुगमन गरेका हुन् ।
आयोजनाहरूको अनुगमन गर्दै उनले आयोजना सम्पन्न गर्नका लागि सहयोग गर्न सबै पक्षलाई आग्रह गरे । ‘प्यूठानी जनताको साथ, सहयोग र सद्भावबाट केही आयोजनाहरू प्रदेश सरकारले सञ्चालन गरिरहेको छ ’, उनले भने, ‘बाँकी रहेका काम सम्पन्न गर्ने योजना निर्माणका लागि अनुगमनमा आएका छौं ।’
मन्त्री राणाले बाग्दुला–मच्छी सडक, दम्ती–बाहाने सडक, दोभाई, कुटीचौर–किटघाट र मच्छी–पिडाल्ने पक्की पुलको अनुगमन गरेका हुन् । आगामी वर्ष बन्ने बजेटबाट चालु अवस्थामा रहेका आयोजनाहरू सम्पन्न गर्ने गरी योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए । ‘आयोजना कार्यान्वयनको अवस्थाका बारेमा स्थलगत जानकारी दिएका छौं’, उनले भने, ‘आगामी आउने सरकार वा हामीहरू सरकारमा रहेमा आयोजना सम्पन्न गर्ने गरी बजेट निर्माण हुन्छ ।’
आयोजनालाई दिगो रुपमा उपयोगमा ल्याउने गरी थप कार्यहरुका बारेमा समेत अनुगमनका क्रममा छलफल गरिएको उनले सुनाए ।