मुख्य समाचार
‘बीटीएस’ को बहुप्रतीक्षित कमब्याक कन्सर्टअघि सोलमा सुरक्षा कडा
‘बीटीएस’ को बहुप्रतीक्षित कमब्याक कन्सर्टअघि सोलमा सुरक्षा कडा

। ‘बीटीएस’ को बहुप्रतीक्षित कमब्याक कन्सर्टअघि सोलमा सुरक्षा कडा पारिएको छ । शनिबार हुने कन्सर्टमा करिब दुई लाख ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

यसलाई ध्यानमा राख्दै अधिकारीहरूले उक्त क्षेत्रमा उच्च सुरक्षा सतर्कता कायम गरेका छन् र राजधानीमा हजारौं प्रहरी परिचालन गर्ने तयारी भैरहेको जनाइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले यस साता मन्त्रिपरिषद् बैठकमा सुरक्षा नै सबैभन्दा महत्वपूर्ण विषय भएको बताएका छन् । उनले गृह मन्त्रालय र आपतकालीन सेवालाई उच्च सतर्कता अपनाउन र सम्भावित सबै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएका छन् ।

साथै, उनले यो कन्सर्टलाई देशको विश्वस्तरीय सांस्कृतिक पहिचानलाई पुनः स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि व्याख्या गरेका छन् । बुधबार अधिकारीले राजधानीका केही क्षेत्रमा उच्च सुरक्षा सतर्कताको स्तर चार चरणको मापनमध्ये दोस्रो तल्लो स्तरसम्म बढाएका छन् । यो व्यवस्था शनिबार मध्यरातसम्म कायम रहनेछ ।

अन्तर्राष्ट्रिय परिस्थितिमा आएको तनाव, विशेषगरी मध्यपूर्व संकटलाई ध्यानमा राख्दै सम्भावित आक्रमणको जोखिम पूर्ण रूपमा नकार्न नसकिने प्रहरीले जनाएको छ । कन्सर्ट स्थलबाट करिब १६० मिटर दूरीमा अमेरिकी दूतावास पनि छ ।

सात सदस्यीय के-पप समूह बीटीएसले शनिबार ऐतिहासिक ग्येओङबोकगुङ दरबार अगाडि रहेको ग्वाङह्वामुन स्क्वायरमा प्रस्तुति दिनेछन् । यो कन्सर्ट उनीहरूको पाँचौँ स्टुडियो एल्बम ‘अरिराङ’ सार्वजनिक भएको भोलिपल्ट आयोजना हुन लागेको हो ।

यो कन्सर्ट सन् २०२२ को अक्टोबरपछि पहिलोपटक सबै सात सदस्य एकसाथ मञ्चमा फर्किएको प्रस्तुति हुनेछ । उनीहरूले दक्षिण कोरियाको अनिवार्य सैनिक सेवा पूरा गरेपछि पहिलो सामूहिक कन्सर्ट गर्न लागेका हुन् ।

यो कार्यक्रम नेटफ्लिक्समार्फत विश्वका १९० भन्दा बढी देशमा प्रत्यक्ष प्रसारण गरिनेछ ।

कन्सर्ट हुने क्षेत्रमा करिब २ लाख ६० हजार मानिसको उपस्थितिको अनुमान गरिएको छ । यो संख्या सन् २०१६ मा तत्कालीन राष्ट्रपति पार्क ग्युन–हेको महाभियोगका बेला यही स्थानमा भएको विशाल प्रदर्शनजस्तै हो ।

करिब २२ हजार निःशुल्क टिकट वितरण गरिएको भए पनि धेरै दर्शक टिकटबिना वरपरका सडकमा भेला हुने अपेक्षा गरिएको छ, जहाँ विभिन्न फ्यान कार्यक्रमहरू पनि आयोजना गरिनेछन् ।

कन्सर्टको सुरक्षाका लागि सोल प्रहरी एजेन्सीले करिब ६,५०० प्रहरी परिचालन गर्नेछ, जसमा ७० भन्दा बढी दंगा नियन्त्रण इकाइहरू पनि रहनेछन् । सहर प्रशासनले थप ३,४०० जनशक्ति खटाउनेछ भने १०२ वटा दमकल र ८०३ अग्निनियन्त्रक पनि तयारी अवस्थामा रहनेछन् । कार्यक्रमका दिन कन्सर्टस्थल नजिकका मेट्रो स्टेशनहरूमा रेल रोकिने छैन ।



स्थललाई स्टेडियमजस्तै व्यवस्थापन गरिनेछ, जहाँ ३१ वटा प्रवेशद्वारमा मेटल डिटेक्टर जडान गरिनेछ । सोलभरिका प्रहरी कार्यालयबाट सर्वसाधारणलाई हतियार लिन रोक लगाइएको छ । सुरक्षाका लागि विशेष बल स्थल वरिपरि तैनाथ रहनेछन् भने सवारीसाधन रोक्ने अवरोध, आइरन स्पाइक स्ट्रिप र प्रहरी बसहरू प्रयोग गरी क्षेत्र सुरक्षित गरिनेछ । वरपरका ३१ वटा भवनमा पहुँच र छत प्रयोगमा पनि प्रतिबन्ध लगाइनेछ ।

राष्ट्रपतिका प्रमुख सचिव काङ हून-सिकले यति ठूलो भीडमा सानो गल्तीले पनि देशको छविमा गम्भीर असर पार्न सक्ने बताएका छन् । सन् २०२२ को इटावोन भीड दुर्घटनामा १५९ जनाको ज्यान गएको घटना अझै पनि दक्षिण कोरियामा ताजा स्मृतिमा छ ।

सुरक्षासँगै सहरले बीटीएसको कमब्याकसँग जोडिएको सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने तयारी गरेको छ । शुक्रबार साँझ सहरका मुख्य स्थानहरूमा बीटीएस–थिममा आधारित लाइट शो देखाइनेछ भने हान नदीमाथि १५ मिनेटको ड्रोन शो पनि हुनेछ । यस्ता कार्यक्रमहरू अप्रिल मध्यसम्म चल्नेछन् ।

शनिबारको कन्सर्टपछि बीटीएसले पाँच महादेशका ३४ सहरमा ८२ शोसहित विश्व भ्रमण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्‍घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ । फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ...
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए । ‘चलचित्र ...
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...