। सर्वोच्च अदालतकी न्यायाधीश शान्तिसिंह थापाले अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्त भएको टिप्पणी गरेकी छिन् ।
शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अध्ययन र अनुशासन बिना कानून पेशामा टिक्न नसकिने बताइन् ।
न्यायाधीश थापाका अनुसार सफलताका पूर्वशर्तहरूमा गहिरो अध्ययन, कार्यदक्षता, क्षमता अभिवृद्धि, पेशागत निष्ठा, इमान्दारिता र कडा अनुशासन हुन् ।
‘मैले एउटा मूल मन्त्रको रूपमा यहाँहरूलाई पूर्वशर्त के चाहीँ आग्रह गर्न चाहन्छु भने केही पूर्वशर्तहरू रहन्छन् । व्यक्तित्व विकासको लागि । त्यो हो अध्ययन, दक्षता, क्षमता, निष्ठा, इमानदारिता र अनुशासन यी पूर्वशर्त हुन्,’ उनले भनिन् ।
न्यायाधीश थापाले सम्मेलनमा उपस्थित सहभागीहरूलाई केवल औपचारिकताका लागि मात्र नभई कार्यपत्रहरूमा घनीभूत छलफल गर्न र सशक्त घोषणापत्र तयार गर्न आग्रह पनि गरिन् ।
उनले औपचारिक कार्यक्रमहरूमा धैर्यता र अनुशासन पालना गर्नु कानून व्यवसायीको पहिलो पहिचान भएको बताइन् ।
नेपालको संविधानले आत्मसात गरेको समानुपातिक समावेशिताको सिद्धान्त व्यवहारमा लागू भइरहेको उनको भनाइ छ ।