: राष्ट्रपति रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन्। शनिबार राष्ट्रपति भवन शीतल निवासबाट जारी गरिएको शुभकामना सन्देशमा राष्ट्रपतिले ईद पर्वलाई आपसी खुसीयाली, भाइचारा र सद्भावको प्रतीकका रूपमा चित्रण गरेका छन् ।
राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै यो पर्व हर्षोल्लासका साथ मनाउने उल्लेख गरेका छन्। ईदको विशेष नमाजपछि आशिर्वाद लिने-दिने र मिष्टान्न परिकार खुवाउने परम्पराले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षणमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।
साथै नेपालको सामाजिक एवं सांस्कृतिक विविधतालाई राष्ट्रिय शक्तिको रूपमा व्याख्या गर्दै राष्ट्रपतिले भने 'हाम्रो देशमा इस्लाम समुदाय बसोबास गर्ने विभिन्न स्थानहरूमा यो पर्व मनाइन्छ। सामाजिक एवम् सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ।'
सन्देशको अन्त्यमा राष्ट्रपतिले यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै वृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् ।