मुख्य समाचार
कांग्रेसनिकट नेपाल विद्यार्थी संघ(नेविसंघ)ले संगठनको कार्यगत स्वयत्तताका लागि अब पार्टीको भ्रातृ संगठन नरहने निर्णय
कांग्रेसनिकट नेपाल विद्यार्थी संघ(नेविसंघ)ले संगठनको कार्यगत स्वयत्तताका लागि अब पार्टीको भ्रातृ संगठन नरहने निर्णय

। नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ(नेविसंघ)ले संगठनको कार्यगत स्वयत्तताका लागि अब पार्टीको भ्रातृ संगठन नरहने निर्णय गरेको छ । शुक्रबार बसेको नेविसंघको सिनेट बैठकले संगठनलाई स्वचालित बनाउने भन्दै अब उप्रान्त पार्टीको भ्रातृ संगठन नरहने निर्णय गरेको हो ।

‘नेविसंघले खोजेको कार्यगत स्वयत्तता हो । पार्टीको भ्रातृ संगठनका रूपमा रहँदा हरेक निर्णय पार्टीको निर्देशनमा गर्नुपर्ने बाध्यता रह्यो । जसले विद्यार्थी आन्दोलनका विषयमा हामी प्रभावकारी हुन नसक्ने भयौँ,’ नेविसंघका प्रवक्ता सुरज सेजुवालले भने, ‘यसैले नेविसंघको अधिकार सम्पन्न सिनेट बैठकबाट हामी यो निर्णयमा पुगेका छौँ ।’

कांग्रेसको भ्रातृ संगठन नरहने भन्नुको अर्थ पार्टी र आस्था नै छाडेको भन्ने नहुने प्रवक्ता सेजुवालले बताए । ‘हामी कांग्रेसभन्दा पर हुन्नौँ । पार्टीकै मूल्यमान्यता आत्मसात् गर्छौँ । बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त नै हाम्रो मार्गनिर्देशक सिद्धान्त रहन्छ,’ उनले भने ।

नेविसंघ पार्टीको भ्रातृ संगठन रहँदा विद्यार्थी आन्दोलनका मुद्दा उठाउन नसकेको, आफै व्यवस्थित र स्वचालित संगठन हुन नसकेको गुनासो नेविसंघका पदाधिकारीहरूको छ ।

‘कतिसम्म भने हाम्रो अधिवेशन स्वचालित नै हुन सकेन । समिति आउन पनि पार्टीको सभापति र कार्यसम्पादन समितिको निर्णय चाहिने, उहाँहरूले चाहे, गठन र विघटन हुने । विधान संशोधन चाहे पार्टीलाई पर्खिनुपर्ने । यसले नेविसंघ प्रभावकारी हुन नसकेको हाम्रो समीक्षा रह्यो,’ प्रवक्ता सेजुवालले भने ।

यस्तै कांग्रेस सरकारमा रहँदा हुने गलत निर्णय र अकर्मण्यताको भारी पनि नेविसंघले बोक्नुपर्दा संगठनको साखमा पनि क्षति पुगिरहेको उनले बताए । ‘भ्रष्टाचार पार्टीका नेताले गर्ने, त्यसको भारी नेविसंघले बोक्नुपर्ने । विरोधमा समेत बोल्न नपाइने । त्यसले हामीले गरेका कैयौँ राम्रा काम पनि ओझेलमा परे,’ सेजुवालले भने, ‘अब नेविसंघले विद्यार्थी र देशका मुद्दा उठाउँदा निर्धक्क उठाउन पाइयोस् भन्ने हाम्रो उद्देश्य हो ।’

संगठनको स्वयत्तता नहुँदा समयमै महाधिवेशन गर्न पनि कठिन भएको अध्यक्ष दुजाङ शेर्पाले बताए । उनले भने, ‘हामीले गतिशील संगठन बनाउन चाहेपनि पार्टीको निर्देशनबेगर केही गर्नै नसकिने अवस्था स्वयत्तता नभएर हो । बाहिरबाट हेर्दा हामीले अधिवेशन गर्न नचाहे जस्तो देखिने, भित्र पार्टीलाई महाधिवेशनको कार्यतालिका बुझाउँदा पारित नगरीदिने, विधान संशोधन नगरीदिने अवस्था रह्यो । त्यसैले स्वयत्तताकै लागि यो निर्णय गरेका हौँ ।’

नेविसंघ विद्यार्थी राजनीतिको विरासत बोकेको संगठन भएकाले यसले मौलिक रूपमै काम गर्न पाउनुपर्ने पदाधिकारीहरूको जोड छ । ‘पञ्चायतकालमा पार्टी प्रतिबन्धित हुँदा पनि नेविसंघ सक्रिय थियो । त्यो बेला नेविसंघले गरेका राम्रा कामकै जगमा लोकतन्त्र आएको हो,’ अध्यक्ष शेर्पाले भने, ‘हो त्यस्तै आन्दोलनका रूपमा अब नेविसंघ अगाडि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै पार्टीलाई संकटबाट जोगाउन सकिने बताए । जनताको शक्ति भनेकै संसद भएको तर पार्टी अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि नै पार्टीको ओरालो यात्रा ...
वैज्ञानिकहरूले बेलायतको ग्लोस्टर क्षेत्रमा गोहीको एक अत्यन्तै दुर्लभ र नयाँ प्रजाति फेला पारेका छन् । करिब २१ करोड ५० लाख वर्ष पुरानो ‘ट्रायसिक’ कालखण्डको यो जीव अहिलेका गोहीहरूजस्तो पानीमा बस्ने नभई जमिनमा निकै तीव्र गतिमा दौडनसक्ने खालको रहेको अनुसन्धानले देखाएको छ । यसको शारीरिक बनावट आधुनिक ‘ग्रेहाउन्ड’ जातको कुकुरसँग मिल्दोजुल्दो रहेको र यो आफ्ना लामो खुट्टाको ...
: एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-३ का एम्बुलेन्स चालक ४३ वर्षीय दावा नुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का २७ वर्षीय मार्कुस तामाङ, आमाछोदिङमो गाउँपालिका-५ का ३२ वर्षीय सुशील तामाङ र आमाछोदिङमो गाउँपालिका-५ की ३६ वर्षीया सुनिता तामाङ रहेका छन्। पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावतीमा बागमती प्रदेश ...
: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा तीन महिना व्यापार प्रभावित हुने भएको छ। स्याफ्रु-रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि प्रत्येक महिना १५ दिन सडक बन्द हुने भएपछि व्यापार प्रभावित हुने भएको हो। गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाले सूचना प्रकाशित गरेर अप्रिल महिनादेखि तीन महिनासम्म १५/१५ दिनका दरले सडक बन्द गर्ने जानकारी दिएको हो। योजनाका ...
। बागलुङ-रुकुमपूर्व सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा परेको हिमपातका कारण अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातका कारण रुकुमपूर्वको भूमे गाउँपालिका-१ को पातिहाल्ना क्षेत्रमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा ७ वटा बस, एक जिप र करिब १० मोटरसाइकल सोही क्षेत्रमा अड्किएका थिए । जसका कारण यात्रुहरू चिसो र भोकसँग ...