: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत हुने निर्णय पेस गरेका छन्। पार्टी कार्यालयमा शुक्रबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिमा उनले सात कारणसहित सभापति थापाको राजीनामा स्वीकृत नहुने बताए।
प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पुर्याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उनको ठहर छ। 'विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न,' उनले भनेका छन, 'त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ।'
उपसभापति शर्माले राजीनामाका विषयमा सात कारणसमेत खुलाएका छन्। उनले कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न नसके पनि पार्टीले अपनाएको मूल नीतिको विजय भएको बताए।
उनले पहिलो दल बन्न नसके पनि एक संयमित र जिम्मेवार राजनीतिक दल देशको संसदले जिम्मेवार प्रतिपक्षका रूपमा पाएको उल्लेख गरेका छन्। 'प्रतिपक्षी बेन्च जिम्मेवार ढंगले प्रस्तुत हुँदा त्यसले एकातर्फ लोकतान्त्रिक पद्धतिको सुदृढीकरणलाई बल पुग्छ, अर्कातर्फ समुन्नतिको गतिलाई सकारात्मक साथ पुग्नेछ। राम्रा कुरालाई साथ, खराबीमा खरो विमती कांग्रेसको रहनेछ,' उनले भनेका छन्।
उपसभापति शर्माले पराजय हुँदा पनि देशभर पार्टीपंक्ति नहल्लिएको बताए। दृढ ढंगले अघि बढेर नयाँ परिस्थितिको विकास गर्न सकिन्छ भन्ने ऊर्जा आम पार्टी सदस्यमा देखिएको र त्यो अत्यन्तै सकारात्मक रहेको बताए। विशेष महाधिवेशनमार्फत परिवर्तनको सन्देश लिएर नगएको भए, चुनावमा ऊर्जाका साथ खट्न नसकिने र योभन्दा खराब अवस्था आउने उनले आकलन गरेका छन्। 'पराजय व्यहोरेको भए पनि बिशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको थियो भन्नेमा देशभर आम पार्टी सदस्यको अब्यक्त मनोविज्ञान र व्यक्त धारणा पाइएको छ,' उनले भनेका छन्।
उनले प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो नभएको बताए। तर, परिवर्तनको सन्देशले पार्टी पंक्तिमा ऊर्जा भरेका कारण पार्टी शून्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको उनको भनाइ छ। 'वर्षौंदेखिको नागरिकको असन्तुष्टि फागुन २१ को निर्वाचनबाट हाम्रो विपक्षमा मतका रूपमा प्रकट भइसकेको छ। अब यो विगत बनिसक्यो। अब नयाँ ढंगले अघि बढेर, कांग्रेसले देशका लागि विगतमा गरेका सबै राम्रा काम शान्तसँग नागरिक पंक्तिमा पुर्याउन हामीलाई समय मिलेको छ,' उनले भनेका छन्।