: राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनालाई आत्मसात् गरेर राष्ट्र निर्माणका लागि अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन्। मधेसी आयोग स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्।
पौडेलले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेको बताए। उनले नेपाल एक बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न राष्ट्र भएको बताए।
आयोगले बितेका सात वर्षमा मधेसी समुदायको पहिचान र अधिकारका लागि आधार खडा गरेको बताउँदै राष्ट्रपतिले आगामी दिनमा पनि आयोग सक्रिय रहने पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, 'हालै सम्पन्न निर्वाचनमार्फत जनताद्वारा अभिव्यक्त देश विकासको दायित्वलाई पूरा गर्न सबै पक्षलाई आह्वान गर्दछु।'