— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद नबनेपछि गायक प्रकाश सपुतले आफ्नो राजनीतिक यात्राबारे स्पष्टीकरण दिएका छन्।
शनिबार सामाजिक सञ्जालमा उनले आफू संसद् छिर्न नपाए पनि चुनावी मैदानमा बोकेका उद्देश्य पूरा भएकामा कुनै गुनासो नरहेको बताएका छन्।
पार्टी सभापति रवि लामिछानेले फोन गरेर ‘तपाईं छुट्नुभयो’ भनी जानकारी गराएको उल्लेख गर्दै सपुतले आफूलाई अब कुनै सरकारी नियुक्ति वा पद नचाहिएको स्पष्ट पारेका छन्। ‘म आफ्नो व्यक्तिगत स्वार्थका लागि कुनै दिन तपाईंहरूकहाँ आउने छैन, मलाई कतै एड्रेस गर्न कुनै नियुक्ति दिने सोच्दै नसोच्नुहोला,’ उनले लामिछानेलाई दिएको जवाफ उद्धृत गर्दै लेखेका छन्।
सांसद भएको भए दलित अधिकार र मौलिक संस्कृतिको क्षेत्रमा नीतिगत काम गर्ने योजना रहेको बताउँदै उनले अब भने पूर्ण रूपमा सांगीतिक क्षेत्रमै फर्कने बताएका छन्। चुनावी अभियानका क्रममा सडकमा गीत गाउँदा आफूभित्रको कलाकार रोएको स्मरण गर्दै सपुतले लेखेका छन्, ‘म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु। मेरो बाल मस्तिष्कले बोकेको सामाजिक र राजनीतिक चेतको भारी बिसाएर केवल इन्टरटेनर हुन चाहन्छु।’