— कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितका कर्मचारीलाई जिम्मेवारीबाट फिर्ता बोलाइएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार, युनिट सुरक्षामा भएको लापरबाहीबारे छानबिन गर्न टोलीलाई काठमाडौं झिकाइएको हो ।
भारतबाट ४ चैतमा अवैध रुपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर तस्करीमा संलग्न समूह अनाधिकृत रुपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेको थियो ।
त्यसबेला सशस्त्र प्रहरी कर्मचारीमाथि हातपातको प्रयास गर्दासमेत बल प्रयोग नगरेको र युनिटको आवश्यक सुरक्षा नआएको देखिएको भन्दै उनीहरुलाई काठमाडौं फिर्ता बोलाइएको भट्टले बताए ।
'कार्यालयभित्र छिरेर कमाण्डरमाथि हातपातको प्रयास हुँदासमेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भिर रुपमा छानबिन गर्नेछ,' भट्टले भने, 'तस्करी रोक्न विगतदेखि नै उत्कृष्ट कार्य गर्दै आएका डीएसपी पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भए पनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपुर्याएको देखिन्छ ।'
यो घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले एसपी अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति समेत गठन गरेको छ ।
फिर्ता बोलाइएको ठाउँमा अहिले कैलालीबाट टोली पठाइएको छ ।