— विश्व व्यापार संगठनले सन् २०२६ मा विश्वको वस्तु व्यापार वृद्धिदर घटेर १.९ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । संगठनले बिहीबार सार्वजनिक गरेको 'ग्लोबल ट्रेड आउटलुक एन्ड स्टाटिक्स' ले विश्व बजारमा ऊर्जाको मूल्यमा आउने उत्तारचढाव बाहेकको आधारभूत वृद्धि दर प्रक्षेपण गरेको हो ।
सन् २०२५ मा ४.६ प्रतिशत रहेको विश्वव्यापी वस्तु व्यापार वृद्धि दर सन् २०२६ मा घटेर १.९ प्रतिशतमा खुम्चिने अनुमान गरेको हो । यदि पश्चिम एसियाको द्वन्द्वका कारण ऊर्जाको मूल्य बढ्दा र विश्वव्यापी यातायातमा अवरोध लामो समय जारी रहे यो वृद्धि दर अझै कम हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।
आर्टिफिसिएल इन्टेलिजेन्सी (एआई)सँग सम्बन्धित उत्पादनहरूको वृद्धि र नयाँ भन्सार शुल्कबाट बच्नका लागि पहिले नै गरिएको आयातकार कारण व्यापार सामान्य अवस्थामा आउने अपेक्षा गरिएकाले वृद्धिदर खुम्चिने संगठनले जनाएको छ । सन् २०२७ मा विश्व वस्तु व्यापारको परिमाण २.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
व्यापारिक सेवाको व्यापार वृद्धि यस वर्षको ५.३ प्रतिशतको वृद्धिपछि २०२६ मा ४.८ प्रतिशतमा झर्ने र २०२७ मा पुनः ५.१ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ। समग्रमा वस्तु र सेवाको व्यापार २०२५ को ४.७ प्रतिशतको तुलनामा २०२६ मा २.७ प्रतिशत ले बढ्नेछ। विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि दर २०२५ को २.९ प्रतिशतबाट थोरै घटेर २०२६ र २०२७ दुवै वर्षमा २.८ प्रतिशत रहने अनुमान गरिएको छ ।
सन् २०२६ मा कच्चा तेल र तरल प्राकृतिक ग्यासको मूल्य उच्च रह्यो भने यसले २०२६ को जीडीपी प्रक्षेपणबाट ०.३ प्रतिशत बिन्दु घटाउनेछ । जसले गर्दा यस वर्षको व्यापार प्रक्षेपणमा ०.५ प्रतिशत बिन्दु र ऊर्जा आयातमा निर्भर क्षेत्रहरूका लागि १.० प्रतिशत बिन्दुसम्मको गिरावट आउनेछ । उच्च ऊर्जा मूल्यको परिदृश्यमा वस्तु व्यापारको परिमाण केवल १.४ प्रतितशतले मात्र बढ्नेछ। २०२६ मा सेवा व्यापार पनि ४.१ प्रतिशतलको सुस्त दरमा वृद्धि हुनेछ ।
उच्च प्रविधि उत्पादन र डिजिटल माध्यमबाट उपलब्ध गराइने सेवाहरूको व्यापार, आपूर्ति शृङ्खलामा गरिएका अनुकूलन र भन्सार शुल्कमा हुने प्रतिशोधात्मक कारबाहीबाट जोगिएका कारण विश्वव्यापी व्यापारमा देखिएको लचकतालाई झल्काउँने संगठनकी महानिर्देशक गोजी ओकोन्जो इवेलाले बताइन् ।
'यद्यपि, यो आधारभूत प्रक्षेपण पश्चिम एसियाको द्वन्द्वका कारण दबाबमा छ,' उनले भनिन् 'ऊर्जाको मूल्यमा हुने निरन्तर वृद्धिले विश्वव्यापी व्यापारका लागि जोखिम बढाउन सक्छ, जसले खाद्य सुरक्षामा असर पार्नुका साथै उपभोक्ता र व्यवसायीहरूमा लागतको दबाब सिर्जना गर्न सक्छ ।'
इन्धन बाहेक 'स्ट्रेट अफ हर्मुज' साँघुरो जलमार्गको अवरोधले विश्वव्यापी कृषिका लागि महत्त्वपूर्ण मलखादको आपूर्तिमा अवरोध पुर्याएको छ । सामान्यतया विश्वको झन्डै एक-तिहाइ मल निर्यात यही जलमार्ग भएर जान्छ ।
भारत, थाइल्याण्ड र ब्राजिल जस्ता प्रमुख कृषि उत्पादकहरू आफ्नो युरिया आयातका लागि क्रमशः ४० प्रतिशत, ७० प्रतिशत र ३५ प्रतिशत खाडी क्षेत्रमा निर्भर छन् । खाडी मुलुकहरूले पनि खाद्य सुरक्षाको चुनौती सामना गरिरहेका छन् । खाडी मुलुकहरुमा चामलको आयात निर्भरता औसत ७५ प्रतिशत छ भने मकै, भटमास र वनस्पति तेलको आयात ९० प्रतिशतभन्दा बढी रहेको संगठनले जनाएको छ ।