मुख्य समाचार
दुई दिने पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु
दुई दिने पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु

— लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे छलफल गर्न काठमाडौंमा आइतबारदेखि दुई दिने पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु भएको छ । ‘उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’ भन्ने मूल नाराका साथ आयोजित दुई दिने सम्मेलनमा नीति निर्माता, नियामक निकायका प्रतिनिधि, लघुवित्त सञ्चालक र देशभरका ६ सयभन्दा बढी सदस्यहरूको सहभागिता रहने छ ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले नेपालमा गरिबीको दर उल्लेख्य रूपमा घट्नुमा लघुवित्तको ठूलो योगदान रहेको बताए । उनका अनुसार, नयाँ मापदण्ड अनुसार नेपालमा गरिबी २० प्रतिशत र पुरानो मापदण्ड बमोजिम ४ प्रतिशतमा झरेको छ । ‘जाजरकोट जस्ता दुर्गम जिल्लाका कतिपय स्थानीय तहमा अझै ७८ प्रतिशतसम्म गरिबी विद्यमान रहेकाले लघुवित्त संस्थाहरू अब सहरी क्षेत्रमा मात्र सीमित नभई दुर्गम क्षेत्रमा केन्द्रित हुन जरुरी छ,’ उपाध्यक्ष श्रेष्ठले भने ।

लघुवित्त क्षेत्रमा पछिल्लो समय देखिएका समस्याहरूबारे चर्चा गर्दै डा. श्रेष्ठले कोभिड–१९ पछिको आर्थिक सुस्तता, संस्थागत सुशासनको अभाव र बढ्दो निष्क्रिय कर्जालाई मुख्य चुनौतीका रूपमा औंल्याए । उनले भने, ‘लघुवित्त संस्थाले संस्थागत सुशासन पालना गर्नुपर्छ र सदस्यहरूले पनि वित्तीय अनुशासन कायम राख्नुपर्छ ।’ अबको लघुवित्त क्षेत्र क्रेडिट प्लस मोडलमा जानुपर्ने र केवल ऋण प्रवाहमा मात्र सीमित नभई उत्पादनको बजारीकरणमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । धेरै उद्यमी र किसानहरूले बजार नपाएको गुनासो गर्ने गरेको सन्दर्भमा लघुवित्तले बजारीकरणमा सहयोग पुर्‍याउनुपर्नेतर्फ उनले जोड दिए ।

देशमा बढ्दो बसाईंसराइ र वैदेशिक रोजगारीका कारण श्रम शक्तिको अभाव भइरहेको र मागमा शिथिलता आएको भन्दै उनले लघुवित्तलाई पुरानै ढर्राबाट नभई प्रविधि र समयको परिवर्तन अनुसार परिमार्जन गर्न आग्रह गरे ।

सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त संस्थाहरू अब पैसाको व्यापारी मात्र नभई उद्यमको व्यापारी बन्नुपर्ने धारणा राखेका छन् । ‘लघुवित्त चोखो कर्जाको व्यापार मात्र होइन, यसलाई उद्यमशीलतासँग जोड्नुपर्छ । हामीले हाम्रा सदस्यलाई ऋणी मात्र होइन, उद्यमी बनाउन सक्नुपर्छ । यदि सदस्यहरू उद्यमी बनेमा ऋण असुलीमा कुनै समस्या नहुने र उनीहरूको आय वृद्धि हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने ।

उनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको ‘थ्री जिरो’ अवधारणाले शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनलाई लघुवित्तको मुख्य मन्त्र बनाउनुपर्नेमा जोड दिए । यससँगै, अध्यक्ष श्रेष्ठले लघुवित्त क्षेत्रमा बढ्दै गएका विकृति र विसंगतिहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । ‘नेपालको कुल घरधुरी नै करिब ६० लाख रहेको अवस्थामा सोही बराबरको संख्यामा लघुवित्तका सदस्य हुनु अवास्तविक छ । एकै व्यक्तिले औसतमा तीनवटा संस्थाबाट ऋण लिने बहु बैंकिङ गरेका कारण तथ्यांकमा दोहोरोपना देखिएको र यसलाई घटाएर हेर्दा लघुवित्तमा वास्तविक ऋणी २९ लाख हाराहारीमा छन्,’ उनले भने ।

नेपालले २०४८ सालदेखि बंगलादेशको ‘ग्रामीण मोडल’ पछ्याएको भए पनि समयक्रममा यसमा धेरै तोडफोड र विकृतिहरू भित्रिएको श्रेष्ठले बताए । सुरुवाती चरणमा यो मोडल अत्यन्तै प्रभावकारी रहेको भए पनि पछि सामाजिक व्यवसायका रूपमा सुरु भएको लघुवित्तमा विचलन आएको उनको भनाइ छ । मल्टिपल फाइनान्सिङका कारण ऋणीहरू आत्महत्या गर्ने स्थितिमा पुग्दा समेत तत्कालीन गभर्नरलाई बुझाइएको प्रतिवेदनमा कुनै कारबाही नभएकोमा उनले गुनासो गरे ।

अध्यक्ष श्रेष्ठले लघुवित्त क्षेत्रमा भइरहेका ‘म्यानिपुलेसन’लाई यथार्थमा नल्याए स्थिति भयावह हुन सक्ने भन्दै नेपाल राष्ट्र बैंकलाई विशेष ध्यान दिन आग्रह गरेका छन् । सम्बन्धित संस्थाका सञ्चालक समिति र सीईओहरूलाई पनि यथार्थ लुकाउने वा ढाकछोप गर्ने काम नगर्न र सही बाटोमा हिँड्न उनले सचेत गराए ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले नेपालको लघुवित्त क्षेत्रलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सरकारसँग लघुवित्त विकास कोष स्थापनाको प्रस्ताव राखेका छन् । ‘सरकारले विश्व बैंक र एडीबी जस्ता निकायसँग समन्वय गरी एउटा कोष खडा गर्न जरुरी छ । यस कोषमार्फत सहुलियत ब्याजदरमा लघुवित्तलाई रकम उपलब्ध गराउँदा विपन्न वर्गले पनि सस्तोमा कर्जा पाउने र यो विन–विन अवस्था हुन्छ,’ अध्यक्ष यादवले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि नयाँ संसद् भवनको बहुउद्देश्यीय हल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ । नयाँ संसद् भवनभित्र प्रतिनिधिसभाको सभाकक्षको निर्माण कार्य सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा सपथका लागि आवश्यक व्यवस्थापनको कार्य गरिएको संघीय संसदकी सहसचिव बविता मिश्रले जानकारी दिइन् । बहुउद्देश्यीय हलमा सभामुखको आसनका साथै सभामुखको दायाँ पक्षमा ...
: प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड भ्रमणका क्रममा लेक लागेर बिरामी परेका एक विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। गोसाइँकुण्ड गाउँपालिका–५ स्थित होटल लेकसाइडमा बसेका थाइल्याण्डका नागरिक २७ जना बौद्ध भिक्षुको टोलीसँगै गोसाइँकुण्ड पुगेका २२ वर्षीय फ्रा सुखोन तोस्राक्सालाई उच्च हिमाली क्षेत्रमा हुने ‘हाई अल्टिच्युड सिकनेस’ का कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। उनलाई ...
— बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणाको तयारी गरेको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरेको बताए । यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकार भएका ...
: नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भीक निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठककाबीच सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारणले नै अपेक्षित मत नआएको प्रारम्भीक निष्कर्ष रहेको बताए। त्यसका अतिरिक्त निर्वाचन क्याम्पेनिङमा भएका त्रुटि समेत देखिएकाले बैठकमा ...
— जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थी घटेका छन् । गत वर्षभन्दा विद्यार्थी संख्या घटे पनि विद्यालयको संख्या भने बढेको छ । गत वर्षभन्दा यस वर्ष एसईई दिने विद्यार्थी ३ सय ८६ जना घटेका हुन् भने एसईईमा सहभागी हुने ६ विद्यालय बढेका छन् । गत वर्ष ४ हजार ३ सय ७ जना विद्यार्थीले ...