: कर्णाली प्रदेश सरकारले रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई सदस्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको ।
प्रदेश सरकारले यसअघि, सदस्य–सचिव छनोट समितिले गत माघ ३ गते अन्तर्वार्ता लिई तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएका उम्मेदवारहरूमा रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल थिए ।
छनोट समितिले गरेको मूल्यांकनमा रविन्द्र चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए भने दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक प्राप्त गरेका थिए ।
सदस्य–सचिव पदका लागि प्रारम्भमा २१ जनाले आवेदन दिएका थिए, जसबाट १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो । अन्तर्वार्ता र मूल्यांकनका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो, जसमध्येबाट चन्दलाई नियुक्त गरिएको हो ।