: विराटनगरमा भएको एउटा जघन्य अपराधले दाम्पत्य सम्बन्धभित्रको अविश्वास र त्यसले निम्त्याउने दुःखद् परिणामलाई सतहमा ल्याएको छ । एक युवकले आफ्नै श्रीमतीको हत्या गरी शव लुकाएको घटना सार्वजनिक भएको छ ।
हत्यापछि शव लुकाएर श्रीमती हराएको नाटक गर्दै प्रहरी कार्यालयमा हुलियासहितको निवेदन दिने युवक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१५ हर्ताली हाटका रोशन साहले ३२ वर्षीया श्रीमती कोमलकुमारी साहको हत्या गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए ।
घटना सार्वजनिक भएसँगै स्थानीयस्तरमा त्रास र आक्रोश फैलिएको छ । घटनाले घरेलु सम्बन्धभित्र लुकेका हिंसात्मक प्रवृत्तिबारे गम्भीर बहस जन्माएको छ । डीएसपी लामिछानेका अनुसार हत्या गरेपछि रोशनले प्रमाण मेटाउने उद्देश्यले सुनियोजित रूपमा शव व्यवस्थापन गरेका थिए । उनले हातखुट्टा बाँधी श्रीमतीको शवलाई तन्नाले बेरेर विराटनगर–१७ छाला फ्याक्ट्रीबाट पश्चिमस्थित पानी बगिरहेको कल्भर्टमुनि फालेका थिए ।
प्रहरीका अनुसार शव व्यवस्थापन गर्न रोशनले घरदेखि पूर्वतर्फ करिब ४–५ किलोमिटर टाढाको स्थान रोजेका छन् । घटनालाई लुकाउने उद्देश्यले शव फाल्न टाढाको स्थान छनोट गरेको प्रहरीको भनाइ छ । घटनाको रहस्य चार दिनपछि मात्र खुलेको थियो । तन्नाले बेरिएको अवस्थामा कल्भर्टमुनि पानीभित्र शव देखिएपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँले मंगलबार साँझ करिब ६ः५५ बजे प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डीएसपी लामिछाने र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो ।
शव सडेर दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भयो । प्रहरीले हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दै अनुसन्धान अघि बढाउँदा मृतक कोमलकुमारी साह रहेको पुष्टि भएको हो । प्रहरीका अनुसार कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन् । त्यसको दुई दिनपछि चैत ८ गते रोशन स्वयंले श्रीमती हराएको भन्दै इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका थिए । तर, हराएको नाटक गर्दै दिएको निवेदन नै हत्यापछि घटना लुकाउने र कानुनी कारबाहीबाट बच्ने योजनाबद्ध प्रयासको हिस्सा बनेको छ ।
प्रारम्भिक अनुसन्धानबाट रोशनले श्रीमती कोमलकुमारीको घाँटी थिचेर हत्या गरेको निष्कर्ष निकालिएको छ । हत्यापछि प्रमाण नष्ट गर्न शवलाई टाढा पुर्याएर पानीभित्र फालिएको पाइएको हो । हातखुट्टा बाँधिएको, तन्नाले बेरिएको र पानीमा डुबेको अवस्थामा शव फेला पर्नुले घटना योजनाबद्ध रहेको पुष्टि हुने प्रहरीको भनाइ छ ।
प्रहरीको नियन्त्रणमा रहेका रोशनले सोधपुछका क्रममा अपराध स्वीकार गरिसकेका छन् । हाल इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । इन्स्पेक्टर कविन राईको नेतृत्वमा घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।
कानुनी प्रक्रिया पूरा गरी शवलाई घटनास्थलबाट मंगलबार राति करिब १० बजेतिर पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको थियो । पोस्टमार्टम रिपोर्ट आएर अनुसन्धान सकिएपछि घटनाको थप तथ्यहरू सार्वजनिक हुने डीएसपी लामिछानेले बताए ।
प्रहरीका अनुसार घटनाको पृष्ठभूमिमा दाम्पत्य सम्बन्धमा देखिएको अविश्वास मुख्य कारण बनेको छ । परपुरुषसँग श्रीमतीको सम्बन्ध रहेको आशंकामा रोशनले पटकपटक विवाद गर्दै आएको र अन्ततः सोही विवादले ज्यानै लिने अवस्थासम्म पु¥याएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । यो घटनाले घरेलु हिंसा, सम्बन्धमा अविश्वास र त्यसबाट उत्पन्न हुने जघन्य अपराधलाई उजागर गरेको छ । प्रहरीले सबै कोणबाट घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।