: कपिलवस्तु घटनामा धार्मिक सद्भाव विथोल्न खोजेको आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका–४ बस्ने २६ वर्षीय राज भन्ने दुर्गेश यादव र कपिलवस्तु नगरपालिका–२ बस्ने २२ वर्षीय पवनकुमार गुप्ता रहेका छन् ।
पक्राउ परेका उनीहरुले कपिलवस्तु नगरपालिका–४ कोदहवा चोकस्थित सार्वजनिक बाटोमा जाँदै गरेको मोटरसाइकल रोकी त्यसमा सवार मानिसहरुलाई लाठ्ठी, हेलमेट र मुक्काले कुटपिट गरी निजहरुको मोटरसाइकल र मोवाइल समेतमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । उनीहरुको सो कुटपिटको घटना सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रहरीले सोही भिडियोको आधारमा घटनाम संलग्न ५–६ जनामध्ये दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा जिल्ला अदालतबाट थप अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
काली मन्दिरमा ढुङ्गा हानी, मन्दिर तोडफोड गरी मन्दिरका सामाग्रीहरुमा क्षति पुर्याउनेलगायतका बिषयलाई लिएर सामाजिक सञ्जालमार्फत विभिन्न जातजाति र सम्प्रदायबीचको सु–सम्बन्धलाई खलल पार्ने, घृणा वा द्वेष फैलाउने कार्य गरेकोमा विद्युतीय कारोवार ऐन २०६३ बमोजिमको कसुरमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका–६ का २१ वर्षीय मुस्ताक नाउ र कपिलवस्तु नगरपालिका–१ का २१ वर्षीय विनोद कहार रहेको प्रहरीले जनाएको छ । उनीहरुले समाजिक सञ्जालमार्फत् विभिन्न जातजाति र सम्प्रदायबीचको सु–सम्बन्धलाई खलल पार्ने, घृणा वा द्वेष फैलाउने कार्य गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए । प्रहरीले यसअघि सो घटनामा सार्वजनिक शान्ति खलल पारेको आरोपमा १० जनालाई उपर मुद्दा प्रक्रिया अघि बढाएको थियो ।