: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध चौतर्फीरुपमा कुप्रचार गरिएको बताएका छन् । पार्टी मुख्यालय च्यासलमा नव निर्वाचित सांसदहरुलाई बिहीबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले फागुन २१ को निर्वाचनको नतिजा अस्वाभाविक’ भएको टिप्पणी गरे ।
अध्यक्ष ओलीले निर्वाचन प्रक्रिया र परिणामबारे विस्तृत टिप्पणी गर्ने बेला नभए पनि अहिलेको नतिजा स्वभाविक नभएको बताएका छन् । उनले एमालेलाई राजनीतिक वा तथ्यका आधारमा नभई असत्य, गालीगलौज र कुप्रचारका माध्यमबाट प्रहार गरिएको बताए । ‘हामी नराम्रो काम गरेर पछाडि परेका होइनौं,’ ओलीले भने, ‘हामीमाथि असत्य र कुप्रचारबाट प्रहार भयो । हाम्रो सभ्य शैलीले त्यसको मुकाबिला गर्न सकेन ।
अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्तालाई सामाजिक सञ्जालको अत्यधिक र प्रभावकारी प्रयोग गर्न निर्देशन दिएका छन् । साथीहरूले सामाजिक सञ्जालमा स्टाटस लेख्दा चाहिनेभन्दा बढी नचाहिने कुरा लेख्ने गरेको भन्दै उनले ती प्रवृत्ति सच्याउनु पर्ने बताएका छन् । ‘हामी आफैले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्नुपर्छ र बोल्नु पर्छ,’ ओलीले भने, ‘अहिलेको कुप्रचारलाई चिर्न तथ्यमा आधारित भएर प्रस्तुत हुन आवश्यक छ ।’