— जाँचबुझ आयोगका अनुसार नेपालले आज एउटा यस्तो युद्ध हार्दै छ, जसको हारको घोषणा कहीँकतै गरिएको छैन किनभने यो युद्ध शान्त, शालिन र आरामदायी छ । यस युद्धको मुख्य कारक तत्त्व वा यसको प्रधानसेनापति भने ‘अल्गोरिदम’ भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल स्वतन्त्र देशजस्तो देखिए पनि यहाँका नागरिकहरू विचार र व्यवहारमा स्वतन्त्र नभएको जिकिर गर्दै प्रतिवेदनले यो जेल पर्खालले नभई मानिसका अभिरुची (प्रिफरेन्स)हरूले बनाइने स्पष्ट पारेको छ ।
‘आजको नेपालमा कुन राजनीतिक मुद्दा उठ्ने र कुन दबाउने/नदेखाउने कुनै तर्क वा बहसले हैन, अल्गोरिदम छनोटले तय गरिरहेको हुन्छ,’ प्रतिवेदनको पृष्ठ ६३३ मा भनिएको छ, ‘यसले गर्दा लोकतन्त्र जरैदेखि कमजोर भइरहेको छ ।’
नेपालमा सबैभन्दा प्रयोग भएको र गरिएको आक्रमण 'डिजिटल प्रोक्सी वार' भएको प्रतिवेदनले औँल्याएको छ । हातहतियार र गोलीगठ्ठाले शरीरलाई मार्न सके पनि गलत विचार र सूचनाले पूरै पुस्तालाई नियन्त्रण गर्ने उल्लेख गर्दै प्रतिवेदनले सूचनाको विषलाई सामाजिक सञ्जालका करोडौँ प्रयोगकर्तामाझ एक शक्तिशाली तथा घातक यन्त्रका रूपमा व्याख्या गरेको छ । यो झुट फैलाउने मात्र नभई मानिसको ध्यान भड्काउने, एक आपसमा घृणा बढाउने र आपसी विश्वास तोड्ने माध्यम बनेको प्रतिवेदनको ठहर छ ।
डिजिटल युगमा अल्गोरिदमले मेरुदण्डको रूपमा काम गरिरहेको र यसले प्रयोगकर्ताहरूले के हेर्ने, के सुन्ने र कस्तो धारणा बनाउने भन्ने विषय सूक्ष्म रुपमा निर्धारण गर्ने प्रतिवेदनमा उल्लेख छ । ‘अल्गोरिदमले कुन कुरा सत्य हो ? कुन कुरा झुटो हो भन्ने कुरासँग सरोकार राख्दैन यसले सत्यता भन्दा संलग्नतासँग मात्र मतलब राख्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा नन-स्टेट एक्टर्स वा टेक कम्पनी र अल्गोरिदमको प्रभाव सबै क्षेत्रमा पर्न थालिसकेको छ, जसका कारणले गर्दा राज्यबाट शक्ति बिस्तारै टेक शक्तिहरुको हातमा सर्दै छ ।’