: ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले शपथ लिएसँगै आफ्नो एक महिनाको तलब शिक्षा क्षेत्रमा सहयोग गर्ने घोषणा गरेका छन्। शुक्रबार प्रतिनिधिसभा सदस्यको औपचारिक शपथ लिएसँगै सांसद थेबेले पहिलो महिनाको तलब जिल्लाको आधारभूत विद्यालयको जग्गा खरिद तथा भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले भने,'ताप्लेजुङका जनताको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यको रूपमा आज औपचारिक शपथ लिएको छु। प्रतिनिधि सभा सदस्यको रुपमा प्राप्त हुने मेरो जीवनकै पहिलो एक महिनाको तलब सिदिङवा गाउँपालिका-३ आङखोपस्थित आगेपा आधारभूत विद्यालयको जग्गा खरिद तथा भवन निर्माणमा सहयोग गर्ने निर्णय गरेको छु।'
एमाले सांसद थेबेले शिक्षामा गरिएको सानो योगदानले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक आधार तयार पार्ने विश्वास व्यक्त गरे। उनले आफूलाई निर्वाचित गराएर संसदसम्म पुर्याउने ताप्लेजुङवासीप्रति आभार समेत व्यक्त गरेका छन्।