— विद्यालयको होस्टेलमा बस्दै आएका १४ वर्षीय बालकको मृत्यु घटनालाई आफन्तले 'शंकास्पद' भएको आरोप लगाएका छन् ।
सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएका १४ वर्षका धमेन्द्रकुमार साहको शनिबार मृत्यु भएको थियो । होस्टेल संचालकले ती बालकले आत्महत्या गरेकाे बताइरहेका छन् । मृतकका आफन्तले ढिलो गरी मात्रै परिवारजनलाई खबर गरेकाले घटना 'शंकास्पद' भएको दाबी गरेका छन् ।
खडक–९ लालपट्टीकी ममता साहले ७ वर्षअघि छोरा धमेन्द्रलाई वडा ७ स्थित फुलेश्वर पब्लिक इङ्लिस बोर्डिङ स्कुल कल्याणपुरमा भर्ना गराएकी थिइन् । त्यहीँको होस्टेलमा बसेर कक्षा ७ मा पढ्दै आएका धमेन्द्रकाे गत शनिबार दिउँसो मृत्यु भएको हो ।
छोराको मृत्युको खबर पाएयता ममता बेलाबेला बेहोस भइरहेकी छन् । ‘शनिबार बिहान १० बजेतिर विद्यालयकी सञ्चालक शोभा चौधरीले तपाईंको छोराले मोबाइल चलाउँदै आएको छ र विद्यार्थीलाई यहाँ मोबाइल चलाउने अनुमति नरहेको बताएकी थिइन्,’ उनले भनिन्, ‘मोबाइल जफत गरेको छु भन्दै छिटो स्कुल आउनु भनेर शोभाले बोलाएकी थिइन् । तर घरायसी काममा लाग्दा तत्कालै जान सकिन ।’
फेरि अचानक ११ बजेतिर विद्यालयका पाले भोला मण्डलको मोबाइलबाट शोभाका श्रीमान् धिरेन्द्रले फोन गरेर छोराको मृत्यु भइसकेको भन्दै द्वारिका हस्पिटल आउन भनेको ममताले बताइन् । ‘हस्पिटल पुग्दा धिरेन्द्रले छोरा होस्टेलमै झुण्डिएको अवस्थामा भेटिएको बताएका थिए । घटना लुकाउन सबै जना मिलेर कसैलाई खबर नगरी हस्पिटलसम्म पुर्यायो,’ ममताले भनिन् ।
विद्यालयबाट फोन आएको १० मिनेटमै फेरि शोभालाई कल गर्दा सम्पर्क नभएको ममताको भनाइ छ । ‘उनलाई फोन नलाग्दा मैले होस्टेलको किचेनमा काम गर्दै आएकी रविना चौधरीलाई फोन गरेको थिएँ,’ उनले थपिन्, ‘धमेन्द्र होस्टल परिसरमा बसिरहेको भनी रविनाबाट जवाफ पनि पाएको थिएँ तर पछि छोराको मृत्यु नै भइसकेको खबर पाएँ ।’ घटनापछि आफुहरु वा प्रहरीलाई समेत जानकारी नगराइ अस्पताल लगेको भन्दै ममताले अनुसन्धानमा समेत ढिलासुस्ती भइरहेको गुनासो गरिन् ।
मृतक धमेन्द्रका काका दिलिपप्रसाद साहले घटना हुनुअघि साढे ९ बजेदेखि नै सीसीटीभीसमेत बन्द राखेको पाइएको बताए । ‘त्यहाँ पुग्दा उनीहरुले सुरुमा त लाइन भएर सीसीटिभी अफ रहेको बतायो । सीसीटीभी हेर्दा घटना हुनुअघि नै सीसीटीभीको स्विच अफ गरेको देखिन्छ,’ उनले भने, ‘भतिजा झुण्डिएको भनिएको ठाउँ पनि धेरै अग्लो छ । आफैं झुण्डिन सक्ने अवस्था देखिँदैन ।’ उनले न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
घटनापछि शोभा र उनका श्रीमान् धिरेन्द्रसहितले नै पासो काटेर धमेन्द्रलाई अस्पताल पुर्याएका थिए । त्यसपछि मात्र उनीहरुले घटनाबारे परिवार र प्रहरीलाई खबर गरेका थिए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गराइए पनि रिपोर्ट नआउँदा जाहेरी नै दर्ता हुन सकेको छैन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर सञ्जीव बोगटीले पोष्टमार्टमा रिपोर्टमा देखिए अनुसार अघि बढ्ने बताए । ‘मृतकका परिवारले उजुरीमा शंका गरेकाहरुसँग सोधपुछ गरिसकेका छौं । पोस्टमार्टम रिपोर्ट आएपछि हामी कानुनबमोजिम अघि बढ्छौं ।’
विद्यालय सञ्चालक शोभाले आफुहरुमाथि लगाइएको आरोपमा सत्यता नरहेको भन्दै धर्मेन्द्रले आत्महत्या गरेको दाबी गरिन् । उनका श्रीमान् धिरेन्द्रले बालक आफु सुत्ने कोठाको ढोका बन्द गरेर झुण्डिएको अवस्थामा फेला परेको बताए । ‘त्योबेला म त्यहाँ थिइन । विद्यार्थीले जानकारी गराएपछि हतारमा ढोका फोडेर बालकलाई उपचार गराउने प्रयासमा पासो काटेर कल्याणपुरस्थित द्वारिका हस्पिटलसम्म लगेका थियौं,’ उनले भने, ‘तर, हस्पिटल पुग्दा चिकित्सकले मृत घोषणा गर्दा आफ्नो पनि मन दुखेको छ ।’