: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु अपरिपक्व निर्णय भएको बताएकी छन्। शनिबार विज्ञप्ति जारी गरेर पूर्व राष्ट्रपति भण्डारीले वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने अपरिपक्क निर्णय भएको बताएकी हुन्।
चुनावी सरकारद्वारा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२' को प्रतिवेदन वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताएकी छन्।
कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको कुरा अध्ययनहरूले देखाएको सन्दर्भमा, सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको उनको भनाइ छ।
उनले भनेकी छन्, ‘कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ। हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्छ र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्छ।’
सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो अपरिपक्व कदम चालिनु अत्यन्त दुःखद् विषय बताउँदै उनले लोकतान्त्रिक मूल्य, मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुने बताएकी छन्।
भण्डारीले सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन आग्रह गरेकी छन्।