: सशस्त्र प्रहरीले नवलपरासीबाट झण्डै १८ लाख बराबरको ‘हुक्का फ्लेवर’ बरामद गरेको छ । जिल्लाको झोलनीपुर सीमावर्ती नाकाबाट २४ कार्टुन हुक्का फ्लेवर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका निमित्त प्रमुख डिएसपी प्रमोद खड्काले जानकारी दिए ।
गए राति गस्तीको क्रममा बलिनगरको तरैनीबाट ५० ग्रामका ५ हजार ९५० पिस हुक्का फ्लेवर बरामद भएको हो । नेपाली बजारमा यस्ता फ्लेवरको मूल्य प्रतिपिस तीन सय बढी पर्ने गरेको बताइएको छ । तर सशस्त्र प्रहरीले भने भारतीय बजार मूल्य प्रतिपिस दुई सय नेपाली कायम गरेको छ ।
सोहीअनुसार कुल ११ लाख ९० हजार कायम गरेर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको डिएसपी खड्काले बताए । ठूलो मात्रामा हुक्का फ्लेवर बरामद भए पनि कारोबारमा संलग्न भने फरार रहेको बताइएको छ । रातिको समयमा गस्तीलाई देखेर कारोबारमा संलग्नहरु फरार भएको र उनीहरुले प्रयोग गरेको तीन वटा भारतीय नम्बरका मोटरसाइकल भने नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।