मुख्य समाचार
नयाँ सरकारले काम सुरु गरेकै दिन लिएका राजनीतिक कदमबाट मुलुक फेरि तरंगित
नयाँ सरकारले काम सुरु गरेकै दिन लिएका राजनीतिक कदमबाट मुलुक फेरि तरंगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले काम सुरु गरेकै दिन लिएका राजनीतिक कदमबाट मुलुक फेरि तरंगित बनेको छ । शनिबार एकाबिहानै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ ।


गत भदौ २३ गतेको विद्रोहमा जेन–जी युवा मारिएको घटनामा प्रमुख कसुरदारका रूपमा लिई सरकारले उनीहरूलाई पक्राउ गरेको हो । त्यसमा सरकारले भदौ २३ र २४ गतेको घट्ना छानबिन र कारबाहीका लागि सिफारिस गर्न गठित कार्की आयोगको प्रतिवेदनलाई आधार बनाएको छ । त्यो प्रतिवेदन त्रुटिपूर्ण, पूर्वाग्रही र अपुरो भनी विवाद छताछुल्ल भइरहेको बेला सरकारले नेताहरूलाई पक्राउ गरेपछि एमालेले सडक आन्दोलन थालिसकेको छ ।


कांग्रेस, एमाले, नेकपासहितका दलहरूले त्यसको विरोधमा वक्तव्यबाजी गरिरहँदा मुलुक थप हिंसा र द्वन्द्वमा जाने त होइन भन्ने संशय बढाएको छ । चौतर्फी प्रश्न उठेको प्रतिवेदन औपचारिक ढंगले सरकारबाट सार्वजनिकसमेत नगर्दै यो तहको राजनीतिक कदम किन र कसरी गरियो ? भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । प्रतिवेदनमाथि मूलतः दुई किसिमका प्रश्न उठेका छन्, पहिलो यो अपुरो र अधुरो छ । यो प्रतिवेदन भदौ २३ को घट्नामा मात्र केन्द्रित छ । त्यसको भोलिपल्टको आतंककारी गतिविधि, भएका जनधन क्षतिबारे समय अपुगलगायत कारण देखाई मौनता साँधेको छ । दोस्रो, आयोगका संयोजक गौरीबहादुर कार्कीको तटस्थताबारे देखिने गरी विवाद आएको छ । त्यसलाई कार्की स्वयंले समेत खण्डन गरेका छैनन् । यी विषयलाई राजनीतिक दल, पेसागत अगुवा संघ–संस्थाहरूले समेत चर्को ढंगले उठाइरहेका छन् । यसको गम्भीरता ख्यालै नगरी पहिलो दिनको घट्ना केन्द्रित भई नेताहरूमाथि धरपकड भएपछि त्यसको प्रतिक्रिया सडकमा पोखिएको हो ।



सरकारको पहिलो काम शान्ति सुव्यवस्था र सुशासन दिनु हो । यसका लागि चालिने हरेक काम निष्पक्ष र विधिसम्मत हुनुपर्छ । प्रश्नरहित र चित्तबुझ्दो हुनुपर्छ । ३६ वर्षको कम उमेरमा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री बालेन र अन्य मन्त्रीहरूसमेत युवामय भएको मन्त्रिमण्डलबाट देशले ठूलो अपेक्षा राखेको छ । ठूला दलका प्रमुख नेता, तिनका बिग्रे भत्केका संयन्त्र र च्यानलहरूबाट आजित भएका जनताले गत फागुन २१ गतेको आमचुनावमार्फत जवाफ फर्काएका हुन् । रास्वपाको लोकप्रियता र काम गर्ने शैलीले एक हदसम्म जनताको मन जितेकोमा विवाद छैन । त्योभन्दा बढी कांग्रेस, एमाले, माओवादीसहितका पुराना दलका क्रियाकलाप र जनअसन्तुष्टि यो मतपरिणामको मुख्य कारक हुन् ।

चुनावमा मिलेको अपार र भारी मतले त्यही भन्छ । रास्वपाका नेताहरू र खासगरी सत्तामा बसेकाहरूले यो जनमत र जनाधारलाई गम्भीर रूपमा लिई आफ्नो कर्तव्यलाई बुझ्नुपर्छ । जनता अब कुनै पनि खालका हिंसा, द्वन्द्व र हैरानी खेप्न चाहँदैनन् र सक्दैनन् । यसलाई रोक्ने एउटै प्रमुख शक्ति पनि आजको दिनमा रास्वपा नै हो । देश विदेशमा रहेका आमयुवा पंक्तिले पनि यही विश्वास रास्वपालाई दिएको हो । देशमा सुशासन कायम होस् । पारदर्शीता होस् र दिनदिनै जनताले भोगिरहेको हैरानी हट्दै जाऊन् भन्ने आम अपेक्षा हो । यसका लागि अहोरात्र काम गर्नुपर्ने, सरकारी र निजी संयन्त्र परिचालन गरेर परिणाम दिनुपर्नेछ । विवादरहित तवरले राम्रो परिणाम दिन सरकार पहिले आफूले विधिको बाटो पक्रनुपर्छ । संविधानको पालना मात्र होइन, रक्षाकवचसमेत बन्नुपर्छ । यो बाटो हिँड्दा मात्र देश र जनताले शान्तिको सास फेर्न पाउँछ ।

हिजो प्रश्न उठाउने ठाउँमा रहेको रास्वपा आज हरेक दिन उत्तर दिनुपर्ने कित्तामा उभिएको छ । यो वा त्यो बहानामा जनताका दिनान्नुदिनका समस्या पन्छाउने छुट यो सरकारलाई छैन । वास्तवमा युवामय यो सरकार र यसको नेतृत्व गरेका प्रधानमन्त्री बालेनले यो पक्षलाई राम्ररी बुझ्नुपर्छ । आफ्ना हरेक कदम संवैधानिक र विधिको सीमामा छन् कि छैनन् भनेर हरेक पल मनन् गर्नुपर्छ । सरकारका लागि अब कुनै पक्ष वा विपक्षभन्दा पनि कानुनको आँखामा सबै बराबरी भन्ने शैली नै कामयावी हुनुपर्छ । कुनै पनि खालका पूर्वाग्रह, पक्षधरताले सरकारको बाटोलाई तगारो हाल्न सक्छ । यसलाई बेलैमा रोकि जनताको मन जित्ने कदम उठाउनु नै बुद्धिमत्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने घोषणा गरेको छ । साना तथा लघु उत्तमीहरुको सहकारीमा ठूलो रकम फसेको छ । जसले गर्दा अर्थतन्त्रको चक्र नै प्रभावित भएका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अनुसार नै सो घोषणा १ सय बुँदे कार्यसूचीमा समेटेको हो । सरकारले कसूरजन्य सम्पत्ति व्यवस्थापन प्रकृयालाई सरल, सहज बनाउन ...
। सरकारले सबै सार्वजनिक यातायातमा सीसीटीभी जडानको घोषणा गरेको छ । सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा सीसीटीभी जडानको घोषणा गरिएको छ । राइड–शेयरिङ एपहरूमा एसओएस बटम अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनमा सम्पन्न गर्ने घोषणा समेत सरकारले गरेको छ । सरकारले महिलाहरूको सुरक्षित आवागमन समुन्नत ...
। सरकारले सरकारी तथा निजी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कम्तीमा १० प्रतिशत शय्या नि:शुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । सरकारले शासकीय सुधारका लागि तय गरेको १०० दिने कार्यसूची अन्तर्गत स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने विभिन्न योजना अन्तगर्त आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्था अन्त्य गर्ने लक्ष्यसहित ...
। सरकारले महिलाहरूको सुरक्षाका लागि भन्दै ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि सारेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० कार्यसूचीमा यो योजना पनि समावेश छ । ‘महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने,’ सरकारको कार्यसूचीमा उल्लेख छ, ‘पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने ।’ त्यस्तै ...
। कृषि उपज खरिदमा उधारो कारोबार अधिकतम २५ दिनभित्र अनिवार्य भुक्तानी हुने व्यवस्था लागू गरिने भएको छ । सरकारले सार्वजनिक गरेको १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ । कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्य समुन्नत गर्न सो निर्णय गर्न लागिएको हो । सो अवधिभित्र भुक्तानी नभएमा ब्याजसहित भुक्तानी गर्नुपर्ने निर्देशिका तत्काल जारी गरिने भएको छ ...