: सरकारले ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने तयारी गरेको छ।
शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न दलीय विद्यार्थी संगठनका संरचना हटाउन लागिएको हो।
आज सार्वजनिक गरिएको शासकीय सुधारका लागि तयार गरेको १०० वटा कार्यसूचीअनुसार दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र स्टुडेन्ट काउन्सिल/भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने सरकारको तयारी छ। हाल विद्यालय तथा विश्वविद्यालयहरूको नेकपा एमाले, नेपाली कांग्रेस लगायतका दलका विद्यार्थी संगठन क्रियाशील रहेका छन्।
कार्यसूचीअनुसार विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेन्डर अनुसार निकाल्ने, विद्यार्थीहरूलाई स्नातकसम्मको अध्ययन गर्न नागरिकता नचाहिने गरी विश्वविद्यालयहरूले आवश्यक कार्यविधिगत व्यवस्था तत्कालै गर्ने लगायतको योजना छ।
यसैगरी कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने र उनीहरूलाई मनोवैज्ञानिक असर र दवाव नपर्ने खालको मूल्यांकन प्रणालीबारे विकल्प तयार गर्ने सरकारको योजना छ।