: नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने भएको छ। देउवा समूहको आज बसेको बैठकले प्रक्रिया पूरा नगरिकन तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो।
पार्टीले जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न देशभरिका पार्टीका साथीहरूलाई तयार रहन अपिल पनि गरेको छ। कांग्रेसले पक्राउ परेका ओली र लेखक दुवैलाई तत्काल रिहाइ गर्न माग गरेको छ। उपसभापति पूर्ण बहादुर खड्काद्वारा जारी विज्ञप्तिमा सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा गरिएको बदनियतपूर्ण कार्यले गम्भीर संवैधानिक र कानुनी प्रश्न उब्जाएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिवेदनको पेज नं ७२१ को सिफारिस बमोजिम ‘अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनिएकोमा कुनै पनि प्रक्रिया पूरा नगरिकन तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप छ, राजनीतिक रूपमा पूर्वाग्रह प्रेरित छ।’
आयोगको कार्यादेश बमोजिम भाद्र २३ र २४ गते दुवै दिनको घटनाको छानबिन गर्नुपर्नेमा भाद्र २४ गतेको घटनाबाट भएको मानवीय क्षति, सरकारी संरचनाको क्षति, राजनीतिक दलका कार्यालयहरू र व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्ति माथि भएको नोक्सानी र संलग्न व्यक्तिहरू बारे मौन रहनुले प्रतिवेदन पक्षपातपूर्ण भएको प्रस्ट भएको दाबी गरिएको छ।
सरकार गठन भए लगत्तै दुरासयपूर्ण तबरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको विज्ञप्तिमा उल्लेख छ।