— नारायणी नदीमा पौडी खेल्न गएका दुई विद्यार्थी डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार मध्यान्ह भरतपुर महानगरपालिका–३ बाह्रघरे चोकनजिक नारायणी नदीको घोलमा बाह्रघरेकै मुनलाइट बोर्डिङ स्कुलमा पढ्ने दुई विद्यार्थी पौडी खेल्न जाँदा डुबेका थिए ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ शरणपुर घरभएका कक्षा ७ मा पढ्ने १३ वर्षीय सनम रम्तेल र प्रशान्त क्षेत्रीको निधन भएको हो । घोलमा डुबेर बेपत्ता भएका उनीहरुको खोजी र उद्धारमा विपद् व्यवस्थापनसहितको प्रहरी टोली खटेको थियो ।
उद्धार टोलीले दुवै जनालाई दिउँसो २ बजेतिर भेटाएर उपचारका लागि भरतपुरको सरकारी अस्पताल पुर्याएको थियो । दुवै जनालाई चिकित्सकले दिउँसो पौने ३ बजेतिर मृत घोषणा गरेको डिएसपी खनालले जानकारी दिए ।