— युद्ध सुरू भएयता इरानले हर्मुजको जलघाँटीमा निरन्तर अवरोध गर्दै आएको छ । तर केही जहाजहरुलाई अनुमति लिएर बाहिर निस्कन दिएको छ । जस्तो, पाकिस्तानका २० वटा जहाजलाई हर्मुजमा आवत–जावत गर्न इरान सरकारले भर्खरै अनुमति लिएको छ । सम्झौताअनुसार दैनिक २ वटा पाकिस्तानी जहाज हर्मुज हुँदै निस्कन पाउनेछन् ।
इरान सरकारले राजश्व तिरेपछि हर्मुजबाट ‘शत्रु देशबाहेक’ अन्य देशका जहाज बिना अवरोध निस्कन पाउने रणनीति बनाएको छ ।
अमेरिका–इजरायल र उनीहरुका सहयोगी देशका जहाजलाई भने हर्मुज क्षेत्रबाट निस्कने अनुमति छैन । इरानको संसद्ले नै हर्मुज जलघाँटीबाट निस्कने जहाजसँग राजश्व शुल्क लिने विषयमा कानुन बनाउँदैछन् ।
अलजजिरामा प्रकाशित पछिल्लो समाचारअनुसार मार्च महिनामा झन्डै १ सय ५० वटा जहाजमात्रै हर्मुजबाट निस्किएका छन् । जबकी, युद्ध सुरु हुनअघि दैनिक १ सयदेखि १ सय ३८ जहाजहरुले हर्मुज क्षेत्रमा आवत–जावत गर्ने गरेको संयुक्त समुद्री सूचना केन्द्रलाई उद्रृत गर्दै बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।
युद्ध सुरु हुनअघि वैश्विक खपतको कुल २० देखि २२ प्रतिशत कच्चा तेल र प्राकृतिक ग्यास मार्ग हुँदै निस्कन्थ्यो । तर अहिले हर्मुज सुनसान छ । ढुवानी विश्लेषक कम्पनी केप्लरले उपलब्ध गराएको तथ्याङ्क नियाल्दा दैनिक ५ देखि ६ वटा जहाजमात्रै यहाँबाट निस्किएको देखिन्छ ।
ती जहाजमध्ये धेरैजसो इरानका जहाज हुन् । केही जहाजहरु चीनका छन् । त्यस्तै ६ वटा भारतीय जहाज पनि यहाँ हुँदै आएका छन् । केही पाकिस्तानी जहाज छन् । पश्चिममा देशका जहाजहरु इरानका बन्दरगाहमा बसेका छन् ।
जलमार्ग पार गर्ने जहाजहरुले पनि विगतको दाँजोमा फरक बाटो प्रयोग गरेका छन् । १५ मार्चमा जलघाँटी हुँदै आएको पाकिस्तानको एक तेल ट्यांकरको ट्रयाकिङ तथ्यांकले उक्त ट्यांकर इरानको तट नजिकबाट आइरहेको देखाउँछ ।
अमेरिकास्थित सेन्टर फर नेभल एनालाइसिसका माइकल कोनेलले सुरक्षाका कारण इरानले फरक बाटो प्रयोग गर्न निर्देशन दिएको हुनसक्ने बताए ।
यसअघि इरानले हर्मुज जलक्षेत्रमा पानीमुनी बम बिछ्याउन सुरु गरेको आरोप अमेरिकाले लगाएको थियो । त्यहीकारण यस जलमार्गमा सबै रुट सुरक्षित नहुनसक्छन् ।
द्वन्द्व सुरु भएदेखि इरानले कम्तिमा २० वटा व्यावसायिक जहाजहरूमाथि आक्रमण गरिसकेको छ । ११ मार्चमा, थाई झण्डा भएको बल्क क्यारियर मयुरी नारीलाई हर्मुजबाट गुज्रने प्रयास गर्दा दुईवटा इरानले आक्रमण गरेको थियो ।
२३ जना चालक दलका सदस्यहरूमध्ये तीन जना अझै बेपत्ता छन् । त्यही दिन अमेरिका र ग्रिसको स्वामित्वमा रहेका दुईवटा जहाजमा पनि आक्रमण भएको थियो ।
किङ्स कलेज फ्रीम्यान एयर एण्ड स्पेस इन्स्टिच्युटका अरुण डसन भन्छन्, ‘ हर्मुज क्षेत्रमा ड्रोन, क्षेप्यास्त्र, द्रुत आक्रमणकारी डुङ्गा र सम्भावित बारुदी सुरुङजस्ता खतराहरूको मिश्रणले गम्भीर चुनौती प्रस्तुत गरेको छ ।’