: प्रतिबन्धित लागुऔषध गाँजालगायतका पदार्थ सेवन गरी यात्रु बोकेर सवारी साधन चलाउने चालकहरू धरानबाट पक्राउ परेका छन् । यस घटनाले सार्वजनिक सवारी साधन चलाउने चालकहरूको लापरबाही र सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ ।
आइतबार सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित तीनकुने क्षेत्रमा ट्राफिक प्रहरीले गरेको विशेष सवारी चेकिङका क्रममा सात जना चालक पक्राउ परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरीका प्रमुख एसपी दीपक गिरीका अनुसार ट्राफिक चेकिङका क्रममा उनीहरूले चलाइरहेका सवारीका चालकहरूमा प्रतिबन्धित लागूऔषध सेवन गरेको भेटिएको हो । पक्राउ पर्नेमध्ये चार जना चालकले गाँजा सेवन गरेको, दुई जनाले अफिम सेवन गरेको र एक जना मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको पाइएको एसपी गिरीले बताएका छन् ।
nullट्राफिक प्रहरीका अनुसार लागुऔषध सेवन गरेर सवारी चलाउनु सडक दुर्घटनाको प्रमुख कारणमध्ये एक हो । यस्ता चालकले सवारी साधनमाथि नियन्त्रण गुमाउने, यात्रुहरूलाई दुव्र्यवहार हुने र यसले यात्रुको जीवन जोखिममा पर्ने भएकाले अन्य सडक प्रयोगकर्ताको ज्यान समेत जोखिममा पर्ने गरेको छ । एसपी गिरीले पछिल्लो समय कोशी प्रदेशका विभिन्न स्थानमा मापसे (मादक पदार्थ सेवन) र लापसे (लागुऔषध सेवन) गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै गएको बताए । ‘दुर्घटना न्यूनीकरणका लागि सवारी चेकिङ कडाइ गरिएको छ,’ उनले भने, ‘लागुऔषध सेवन गरेर सवारी चलाउनेलाई कुनै पनि हालतमा छुट दिइँदैन ।’
यसअघि पनि ट्राफिक प्रहरीले सुनसरीको इटहरी, मोरङको निमुवा र झापाको काँकडभिट्टा क्षेत्रमा गरेको चेकिङका क्रममा ४५ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको थियो । जसका कारण कोशी प्रदेशमा सवारी दुर्घटना व्यापक बन्दै गएको प्रहरीको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार पक्राउ परेका चालकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको बताए ।
उनले सवारी चालकहरूलाई जिम्मेवार बन्न र नियम पालना गरेर मात्र सवारी चलाउन आग्रह गरेका छन् । चालकको लापरबाही, लागूऔषध तथा मादक पदार्थको प्रभावमा सवारी सञ्चालन र ट्राफिक नियमको बेवास्ता सडक दुर्घटनाका मुख्य कारण हुन् । यस्तो अवस्थामा ट्राफिक प्रहरीको सक्रियता मात्र पर्याप्त नहुने भन्दै जनचेतना अभिवृद्धि, कडाइका साथ कानुन कार्यान्वयन र नियमित निगरानी आवश्यक देखिएको धरानका चालक खगेन्द्र थापाले बताए ।
सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले चालक, यात्रु र सम्बन्धित निकाय सबैले सतर्कता अपनाए मात्रै दुर्घटना न्यूनीकरण सम्भव हुने उनको भनाइ छ । गएको ८ महिनामा कोशी प्रदेशका विभिन्न जिल्लामा ४ हजार २ सय ९ सवारी दुर्घटना भएको एसपी गिरीले बताए । दुर्घटनामा परिवर्तनको ३०५ को मृत्यु र ५७५ जना गम्भीर घाइते भएको उनले बताएका छन् ।