प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनीमाथि १२ रनको रोमाञ्चक जित हात पारेको छ। वीरगन्जस्थित नारायणी रंगशालामा १६९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको लुम्बिनीलाई १५६ रनमा समेट्दै सुदूरपश्चिमले महत्वपूर्ण जित निकालेको हो।
लुम्बिनीका लागि सन्तोष यादवले उत्कृष्ट इनिङ खेले पनि जित दिलाउन सकेनन्। बलिङतर्फ चार विकेट लिएका सन्तोषले उत्कृष्ट ब्याटिङ गर्दै ६७ रन बनाएर लुम्बिनीलाई जित नजिक पुर्याएका थिए। १६ रनको स्थितिमा दुवै ओपनर गुमाएर दवावमा परेको लुम्बिनीलाई सम्हालेका सन्तोषले ८४ बलको सामना गर्दै सात चौका र एक छक्का प्रहार गरे।
तर ४०औं ओभरमा खड्क बोहोराको बलमा बोल्ड हुँदै सन्तोष मैदानबाट बाहिरिदा लुम्बिनीको जित्ने सम्भावना कठिन बनेको थियो। त्यसलगत्तै अर्को बलमा अजय चौहानलाई सिकार बनाउँदै बोहोराले सुदूरपश्चिमलाई महत्वपूर्ण जित दिलाए। बोहोरा प्लेयर अफ दि म्याच घोषित भए।
लुम्बिनीका ध्रुव सुनारले ३९ रन बनाउँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। सुदूरपश्चिमका बलर खड्क बोहोराले ५.२ ओभरमा १३ रन खर्चिदै तीन विकेट लिए। कप्तान शेर मल्लले पनि तीन विकेट चट्काए। हेमन्त धामीले दुई विकेट लिँदा नारायण जोशी र लोकेन्द्र चन्दले समान १–१ विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.४ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको थियो। सुदूरपश्चिमका लागि दीपक बोहोराले ३०, हेमन्त धामीले २९, किरण ठगुन्नाले २०, अभिषेक पालले १७, प्रकाश पाण्डेले १४, नारायण जोशीले ११, खड्क बोहोरा र सौर्य श्रेष्ठले समान १०–१० रन बनाए।
लुम्बिनीका लागि सन्तोष यादव र अजय चौहानले ४–४ विकेट लिए भने सन्देश थापाले एक विकेट हात पारे। जितसँगै सुदूरपश्चिम अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने लुम्बिनी पाचौं स्थानमा झरेको छ। समान चार खेल खेलेको सुदूरपश्चिमको ६ अंक बटुलेको छ भने लुम्बिनी तीन अंकमा सीमित छ।
पहिलो खेलमा कर्णालीमाथि चार विकेटको जित हात पारेको सुदूरपश्चिमले दोस्रो खेलमा मधेस प्रदेशसँग पाँच विकेटको पराजय भोगेको थियो। तेस्रो खेलमा भने सुदूरपश्चिमले कोशीलाई सात विकेटले हराएको थियो। यसैगरी पहिलो खेलमा वर्षा बाधक भएपछि कर्णालीसँग अंक बाँडेको लुम्बिनीले दोस्रो खेलमा कोशीलाई १४८ रनले पराजित गरेको थियो।
तेस्रो खेलमा भने लुम्बिनी मधेस प्रदेशसँग २५ रनले पराजित भएको थियो। प्रतियोगिता अन्तर्गत मंगलबार एक खेल मात्र हुनेछ। वीरगन्जस्थित नारायणी रंगशालामा हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र कोशी भिड्नेछन्।