: गृहमन्त्री सुधन गुरुङले प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने बताएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्ने क्रममा मन्त्री गुरुङले आगामी दिनमा अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरे।
उनले सीमित स्रोत साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको चर्चा गरे। गृहमन्त्री गुरुङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै नागरिक र प्रहरी बीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताए।
आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोतहरू नागरिकको सेवाको लागि उच्चतम प्रयोग गर्न समेत उनले जोड दिए। विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्रहरीलाई थप साधनस्रोत युक्त बनाउनुका साथै समयानुकुल आवश्यक तालिमहरूको समेत व्यवस्था गरिने उनले उल्लेख गरे।
प्रहरी कर्मचारीहरूको वृत्ति विकास कार्यसम्पादन एवम् वैज्ञानिक प्रणालीको आधारमा हुने उल्लेख गर्दै सांगठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकुल प्रविधिमैत्री एवम् साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको उनले बताए।
नेपाल प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री गुरुङलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए। निरीक्षणपश्चात आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरेका थिए।