मुख्य समाचार
मातृमृत्युदर रोक्न मधेस प्रदेशको छैन लगानी
मातृमृत्युदर रोक्न मधेस प्रदेशको छैन लगानी

: घटना १ : गत फागुन १० गते सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा आमा बन्न आएकी २३ वर्षीया सुजानादेवी सदाको बच्चा जन्मिएपछि मृत्यु भयो। विष्णुपुर गाउँपालिकाकी सुजनालाई प्रसव पीडा सुरु भएपछि अस्पताल ल्याइएको थियो। चिकित्सकले गर्भमा रहेको बच्चामा मेकोनियम एस्पिरेसन (दिसा खाएको) जोखिम रहेको हुँदा तत्काल शल्यक्रिया गर्नुपर्ने बताए। शल्यक्रिया गरेर बच्चा जन्मिएपछि उनलाई पोस्टअपरेटिभ वार्डमा राखियो तर, बिहान हुन नपाउँदै उनको मृत्यु भयो।


घटना २ : गत वैशाखमा सिरहाको गोलबजारस्थित वर्धमान अस्पतालमा सुत्केरी भएकी मिर्चैया नगरपालिका— ११ सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भयो। शल्यक्रिया गरेर बच्चा पाएकी रामकाशीको सुत्केरी भएको एक दिन नबित्दै ज्यान गयो। अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको बताइएको थियो।


घटना ३ : रौतहटको दुर्गाभगवती गाउँपालिका भलोहिया गाउँकी आरती झाले १८ वर्षको उमेरमा गर्भधारण गरिन्। शारीरिक अवस्था कमजोर भए पनि परिवारको दबाबमा बिहे गरेर गर्भवती भएकी आरतीले निकै कष्टपूर्ण तरिकाले सुत्केरी हुँदै छोरा पाइन् तर, छोरा पाएको एक साता नबित्दै उनको मृत्यु भयो। सन्तान भने जीवित छ।



माथिका घटनाहरू त केही उदाहरणहरू मात्रै हुन्। मधेस प्रदेशमा आमा र नवजात शिशुको मृत्युको पछिल्लो तथ्यांक भयावह छ। सरकारी अस्पताल र बर्थिङ सेन्टरसम्म आएर प्रसूति गराउनेहरूसँग भएका मृत्युका घटनाहरू सरकारी तथ्यांकमा उल्लेख भए पनि घरमै भएका प्रसूतिका क्रममा हुने मृत्युका घटनाहरू अनगिन्ती छन्।

मधेस प्रदेशमा पछिल्लो तीन वर्षको अवधिमा ९४ जना आमाले ज्यान गुमाएका छन् भने नवजात शिशुहरूको मृत्युको संख्या ३ सय ६९ छ। मातृमृत्यु तथा नवजात शिशुहरूको मृत्युको संख्या डरलाग्दो भए पनि यसको न्यूनीकरणका लागि मधेस प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत न त कुनै बजेट छुट्ट्याइएको छ न त विशेष कार्यक्रम नै कार्यान्वयन भएको छ।

मातृ तथा नवशिशु शाखा मधेस प्रदेशको तथ्यांकअनुसार आ.व. २०७९/०८० मा गर्भधारणको अवस्थामा, प्रसवको क्रममा र प्रसवपश्चात मृत्यु हुने महिलाको संख्या २३ रहेको छ। त्यसैगरी सो वर्ष प्रदेशका आठै जिल्लामा ९१ जना नवजात शिशुको मृत्यु भएको थियो। आ.व. २०८०/०८१ मा आमा बन्ने क्रममा मृत्यु हुने महिलाको संख्या ४६ पुग्यो भने यस वर्ष प्रदेशमा १ सय ९१ नवजात शिशुको मृत्यु भएको थियो। चालु आ.व. २०८१/०८२ को असार महिनासम्म २५ जना महिलाहरूको आमा बन्ने क्रममा मृत्यु भएको हो भने नवजात शिशुहरू ८७ जना यो संसार हेर्न नपाउँदै बितेका हुन्।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी नवजात शिशुको मृत्यु हुने जिल्लामा पर्सा जिल्ला रहेको छ भने सबैभन्दा बढी मातृमृत्यु हुने जिल्ला धनुषा हो। ‘प्रदेशले यो विषयलाई खासै महत्व दिएको छैन। मातृमृत्युको संख्या रोक्न कुनै कार्यक्रमहरू पनि छैनन्। हामी संघीय सरकारको बजेटका भरमा जेनतेन थोरबहुत कार्यक्रमहरू चलाइरहेका छौं,’ मातृ तथा नवशिशु शाखा मधेस प्रदेशकी प्रमुख प्रतिभा सिंह भन्छिन्, ‘मातृमृत्यु र नवजात शिशुको मृत्यु हुनुमा अशिक्षा, अज्ञानता, कुपोषण, बालविवाह, घरमै प्रसव गराउने प्रयासहरूलगायतका थुप्रै कारणहरू छन्। गर्भ परीक्षणमा कमी, प्रसूति सेवाका लागि अस्पताल नपुग्नु र प्रसूति सेवापछि भिटामिन ए प्रयोगमा कमी तथा स्वास्थ्य परीक्षणमा कुने गरेको कमीका कारण पनि मातृ तथा शिशु मृत्युदर उच्च भएको हो। यस समस्याको समाधानका लागि प्रदेश तथा स्थानीय सरकारहरूले ठोस कार्यक्रम चलाउनु जरुरी छ तर, त्यसो हुन सकेको छैन।’

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल प्रजनन दर १.९ रहेको छ भने मधेस प्रदेशमा कुल प्रजनन दर राष्ट्रिय औसतभन्दा २.७ बढी छ। यस प्रदेशमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्युदर १ सय ४० रहेको छ, जुन राष्ट्रिय औसतभन्दा निकै कम छ। सन् २०३० सम्ममा मातृ मृत्युदर मधेसमा प्रतिलाख ७० सम्म झार्ने योजना रहेको छ। तर, सोको लागि प्रदेश सरकारको कुनै विशेष कार्यक्रम भने छैन।

सुगम बाटो, यातायातको सहज पहुँच र स्वास्थ्य संस्थाको उपलब्धता हुँदा पनि मधेसमा महिला प्रसवको क्रममा ज्यान गुमाउनुको सबैभन्दा मुख्य तीन कारण रहेको प्रादेशिक अस्पताल जनकपुरकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रुवि सिंह बताउँछिन्। ‘प्रसवको अवस्थामा घरबाट अस्पताल पुग्न ढिलो भएको, समयमै अस्पताल पुगे पनि उपचारमा ढिलाइ भएको र तेस्रो गर्भावस्थामै उचित रेखदेख र नियमित स्वास्थ्य परीक्षण नहुनु पनि मधेसमा महिलाहरूको मृत्युदर बढ्नु पछाडीको कारण हो,’ डा. सिंह भन्छिन्, ‘गर्भावस्थामा महिलाका लागि नियमित चेकजाँच, सुरक्षित मातृत्वको अवधारणालाई बढीभन्दा बढी जनचेतना फैलाउने काम सरकारले गर्नु आवश्यक छ।’

मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयको वार्षिक स्वास्थ्य प्रतिवेदन आव २०८०/०८१ सम्म मधेस प्रदेशमा २१ वटा अस्पताल ३३ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ७ सय ३८ वटा स्वास्थ्य चौकी, ३५ वटा सहरी स्वास्थ्य केन्द्र, १८ वटा सामुदायिक स्वास्थ्य इकाई, ३ सय ७० वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, १ जनस्वास्थ्य प्रयोगशाला, ३ एमएनएच क्लिनिक र २ सय १३ वटा निजी स्वास्थ्य संस्थाहरू विभिन्न जिल्लाहरूमा सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवागढी नाकामा १५ दिनका लागि व्यावसायिक कारोबार बन्द हुने भएको छ। स्याफ्रु-रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि काम सुरु हुने भएसँगै भोलिदेखि कारोबार बन्द हुन लागेको हो। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईका अनुसार सडक स्तरोन्नतिका लागि ३ महिनासम्म हरेक महिना १५ दिन सडक बन्द हुने छ। अप्रिल, मे र जुन महिनाको ...
बाराको सिमरामा प्रत्येक वर्ष आयोजना हुने जीतपुर–सिमरा क्रिकेट कप प्रतियोगिताले एनपीएल फ्रेन्चाईज क्लब जनकपुर बोल्ट्सको साथ पाएको छ
: काठमाडौं जिल्लका पूर्व सीडिओ छबि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्। गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा रिजाल मंगलबार बिहान पक्राउ परेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंले रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा उनी काठमाडौंका सीडीओ थिए। त्यतिबेला प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको भन्दै कार्की ...
: प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरुलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् । मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसंग छलफल गर्दै प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनालाई बजेटको सीमाभित्र रहेर प्राथमिकतामा आधारमा अघि बढाउने प्रतिवद्धता जनाएका हुन् । छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रदेशमा अघि बढ्न नसकेका जरुरी योजनाहरुका बारेमा जानकारी लिएको कैलाली–४ बाट निर्वाचित ...
: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका कार्यालयमा बिचौलियाको प्रवेशमा कडाइ गरेको छ। सेवा प्रवाहलाई पारदर्शी र व्यवस्थित बनाउन मन्त्रालयले विभिन्न विभाग तथा कार्यालयमार्फत सेवाग्राही स्वयं वा आधिकारिक प्रतिनिधिबाट मात्रै सेवा लिनुपर्ने व्यवस्था लागू गरेको हो। मन्त्रालयअन्तर्गतका निकायहरूले जारी गरेका सूचनाअनुसार अब उद्योग, कम्पनी, व्यवसाय वा फर्मसम्बन्धी सेवा लिन सम्बन्धित प्रतिष्ठानका सञ्चालक स्वयं उपस्थित हुनुपर्नेछ। वैकल्पिक ...