: विराटनगरमा लागुपदार्थ सेवन (लापसे) गरेर सवारीसाधन चलाइरहेका ११ जना चालकलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–१५ हुलास चोकस्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा गरिएको संयुक्त चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले सञ्चालन गरेको चेकजाँच अभियानका क्रममा लागुऔषध सेवन गरेर सवारीसाधन चलाइरहेको अवस्थामा चालकहरु फेला परेका थिए। पक्राउ पर्नेमा १० जना सिटी सफारी र एक जना मोटरसाइकलका चालक रहेका छन्।
विराटनगर महानगरपालिका–१७ का सारुड मियाँ, वडा नम्बर १६ का अमृत कामत, वडा नम्बर १५ का सुनील थापा, वडा नम्बर १३ का शंकर महतो, वडा नम्बर १० का मोहमद इन्तियाज, वडा नम्बर ८ का प्रमोद पासवान, वडा नम्बर ६ का शिवम साह, सुरज पासवान, राजेश राम, मोरङको कटहरी गाउँपालिका–२ का सुरेश मण्डल तथा सुनसरीको इटहरी उपमहानगरपालिका–९ का मञ्जिल लिम्बू पक्राउ परेका हुन्। पक्राउ पर्नेमध्ये मञ्जिल लिम्बू मोटरसाइकल चालक हुन् भने अन्य सबै सिटी सफारी चालक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक परीक्षणमै लागुऔषध सेवन पुष्टि भएकाले सबैलाई नियन्त्रणमा लिइएको हो। उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी लागुऔषध सम्बन्धी कानुनअनुसार मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ। लापसे चेकजाँचका लागि स्वास्थ्यकर्मीसहित कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका सूचना अधिकारी डीएसपी सन्तोष श्रेष्ठ, मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपाने, इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईलगायतका प्रहरी अधिकृतहरु खटिएका थिए।
सडक सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन सुदृढ गर्ने उद्देश्यले गरिएको चेकजाँचका क्रममा धेरै चालकहरूको प्रारम्भिक परीक्षण गरिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए। उनका अनुसार परीक्षणका क्रममा ११ जनामा लागुऔषध सेवन पुष्टि भएपछि उनीहरूलाई सवारीसाधनसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा पठाइएको छ।
कोशीका ट्राफिक प्रमुख एसपी गिरीका अनुसार लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले कडाइका साथ चेकजाँच अभियान सञ्चालन गरिएको छ। उनले यात्रुहरूको जीवन सुरक्षालाई ध्यानमा राख्दै यस्तो गतिविधि नियन्त्रण गर्न अभियान निरन्तर जारी रहने बताए।
‘चालकको लापरबाही, मदिरा सेवन र लागुऔषध सेवन सडक दुर्घटनाका प्रमुख कारण बन्दै गएका छन्,’ एसपी गिरीले भने, ‘यस्ता गतिविधि नियन्त्रण गर्न विशेष चेकजाँचलाई अझ कडा बनाइने छ।’ उनलेसबै चालक तथा यात्रुहरूलाई सडक सुरक्षा साझा जिम्मेवारी भएको भन्दै ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन्।