: धनुषाको होटलमा एक युवती मृत फेला परेकी छिन् । मिथिला नगरपालिका–६ ढल्केबरस्थित जुन तारा स्टाप लाइन होटलमा मंगलबार बिहान एक युवती मृत भेटिएको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–१३, मियापाटी घरभई ढल्केवरमा डेरा गरी बस्दै आएकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । उनका अनुसार मृतकको मुखबाट फिज निस्किएको अवस्थामा शव भेटिएको हो ।
घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कामदार फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य तीव्र बनाइएको छ । प्रहरीले अहिले घटनास्थलमा मुचुल्का गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाउने तयारी गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।