: नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा सहभागी १६५ क्षेत्रकै उम्मेदवारसँग चुनावी समीक्षा गर्ने भएको छ । कांग्रेसको चैत १० र ११ गतेको केन्द्रीय समितिको वैठकको निर्णय अनुसार ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ सन्दर्भमा सात वटै प्रदेशमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका नेताहरुसँग समीक्षात्मक छलफल गर्ने भएको हो ।
जसका लागि प्रदेशगत रुपमा छलफलको मिति तोक्दै संयोजक समेत तोकेको छ । छलफल कार्यक्रम तोकिएका संयोजकको समन्वयमा सम्बन्धित प्रदेश अन्तर्गत रहने केन्द्रीय कार्यसमितिका सदस्यहरु, प्रदेश कार्यसमितिका पदाधिकारीहरु, जिल्ला सभापतिहरु, प्रतिनिधि सभा क्षेत्रीय सभापतिहरु, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा क्षेत्रीय सभापतिहरु र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरुको उपस्थितिमा सम्बन्धित जिल्ला कार्यसमितिले कार्यक्रम व्यवस्थापन गर्ने जनाइएको छ ।