: नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउनुपर्ने बताएका छन्।
पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्रीको प्रिमियर कार्यक्रममा उनले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताएका हुन्।
सुनदहको डकुमेन्ट्रीको प्रस्तुति र छायांकनको प्रशंसा गर्दै उनले सुनदहको वास्तविक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरिएको उल्लेख गरे। उनले पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबीच सहकार्य बढाएर सुनदहको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
साथै, रुकुम पूर्वजस्तो हिमाली जिल्लामा पर्यटन विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य रहेको उल्लेख गरेका छन्। आगामी बजेटमार्फत पुराना योजनालाई निरन्तरता दिने र रुकुम पूर्वका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि बजेट व्यवस्थापनका लागि पहल गर्ने समेत बताएका छन्।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्य रूपमा उल्लेख गरेका छन्। उनले सुनदहसहित रुकुम पूर्वका पर्यटकीय गन्तव्यहरुको ब्रान्डिङ गर्नुपर्ने समेत बताए।
समुद्री सतहबाट चार हजार ४३५ मिटर उचाइमा रहेको सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलका रूपमा चिनिन्छ। यहाँ रेड पाण्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी, यार्सागुम्बाजस्ता बहुमूल्य जडिबुटी पाइने भएकाले जैविक विविधताको दृष्टिले समेत यसको उच्च महत्व रहेको छ।
पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा प्रिमियर कार्यक्रम गरिएको थियो।