: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तौलिहवा शाखाका एक कर्मचारीलाई ग्राहकको बैंक खाताबाट आफ्नो व्यक्तिगत बैंक खातामा १ करोड ६५ लाख रुपैयाँ रकमान्तरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही बैंकका कर्मचारी कपिलवस्तु नगरपालिका–३ निवासी २८ वर्षीय रिसभ कार्की रहेका छन्।
पक्राउ परेका कार्कीले मोबाइल बैंकिङ प्रणालीभित्र प्रवेश गरी १६ जना ग्राहकको १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपबाट आफ्नो खातामा रकमान्तरण गरी खाताको रकम हिनामिना गरेको देखिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए । कार्कीले अधिकांश आफ्नै आफन्त, टोल छिमेक र आसपासका ग्राहकको रकम अवैध ढंगबाट रकमान्तरण गरी आफ्नो खातामा दाखिला गरेका थिए।
पक्राउ परेका कार्की उपर बैकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत तलसीपुर बुटवल इजलासबाट ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी नायब उपरीक्षक सिंहले बताए। यस घटनामा सम्पूर्ण आफू मात्रै संलग्न रहेको र बैंकका कुनै पनि कर्मचारीको मिलामतो नरहेको पक्राउ परेका कार्कीले बताएका छन्।