मुख्य समाचार
उत्साह र जिम्मेवारीको बोझमा नयाँ माननीय
उत्साह र जिम्मेवारीको बोझमा नयाँ माननीय

: जेन–जी आन्दोलनको बलमा निर्वाचित प्रतिनिधिसभा अधिवेशनको पहिलो बैठक बिहीबार बस्यो।नयाँ उत्साह, जोस र जाँगरका साथ पहिलोपटक संसद् पुगेका सांसदहरूलाई अन्नपूर्णले सोधेको छ– ‘संसद् के रहेछ ? कस्तो अनुभव गर्नुभयो ?’ अधिकांशको जवाफ समान छ– ‘उत्साही छौं, जिम्मेवारी बोध भएको छ।देश र जनताका पक्षमा काम गर्छौं।’ २७५ सदस्यीय प्रतिनिधिसभामा १ सय २ जना सांसद त ४० वर्षमुनिका छन्।अधिकांश नयाँ अनुहार छन्।नेतृत्वमा हस्तान्तरण र पुस्तान्तरणको माग भइरहेका बेला युवा सांसदहरूको बाहुल्यता रहेको संसद्बाट जनताका बग्रेल्ती अपेक्षा छन्, उत्साह पनि छ।


उत्साहजनक रह्यो

null



प्रशान्त उप्रेती, मकवानपुर–२
पहिलो बैठक उत्साहजनक रह्यो।पार्टीका सभापति रवि लामिछानेले जुन खालका विचार व्यक्त गर्नुभयो, हामी पनि त्यही प्रतिबद्धता गर्दै आएका छौं।त्यो कुरा रोस्ट्रमबाट पनि देखिएको छ।गृहमन्त्री सुदन गुरुङले ३ वटा अध्यादेश टेबल गर्नुभयो।थप त्यस्तो अनुभव त केही भएन, स्वाभाविक नै लाग्यो।राजनीतिमा पहिलादेखि नै चासो राख्ने भएर सांसदका गतिविधि टिभीमा हेर्ने पनि गरेको थिएँ।त्यहाँ पुग्दा पनि टिभीमा देखेभन्दा खासै फरक रहेनछ।तर आफू हुँदा खुसी लाग्ने कुरा त भइहाल्यो।थप जिम्मेवारी पनि महसुस भयो।जनताका आशा अपेक्षाबारे आफूले बोल्न पाएको भए अझ फरक अनुभव हुन्थ्यो होला।भोलिका दिनमा जनताका कुरा राख्ने अवसर आउँछ नै।पहिलो दिन भएकाले गइयो, ताली बजाइयो, आइयो र अब देशले नयाँ दिशा लिने आशा लिइएको छ ।

जिम्मेवारी महसुस गरेँ

null
पुष्पाकुमारी चौधरी, सप्तरी–१, रास्वपा

मलाई पहिलादेखि नै संसद्मा पुगेर जनताका विषयहरू उठाउनुपर्छ र काम गर्नुपर्छ भन्ने लाग्थ्यो।यसपटक मेरो सपना पूरा भएको महसुस गरेँ।जनताले विश्वास गरेर यहाँ पुर्‍याउनुभएको छ। उहाँहरूले जुन प्रकारको जिम्मेवारी दिएर संसदीय यात्रामा मलाई पठाउनुभएको छ, जनताको आशा र अपेक्षाअनुसार काम पूरा गर्ने प्रतिबद्धता गर्नुपर्छ भन्ने बोध गरायो।आम मानिसभन्दा अझ जिम्मेवार महसुस गरेँ।जनताले दिएको जिम्मेवारी र काम कर्तव्यबाट म पछाडि हट्दिन्। उहाँहरूको आवाज उठाइरहनुपर्छ भन्ने अनुभव भइरहेको छ।पहिला संसद् बाहिर हुँदा र अहिले संसद्मा पुग्दा फरक लाग्दो रहेछ।

चुनौती र अवसर दुवै महसुस

null
मोहन आचार्य, कपिलवस्तु–१, रास्वपा

भदौ २३ र २४ गतेको जेन–जी विद्रोहको परिणामस्वरूप २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित भएका सदस्यहरूको पहिलो संसद् अधिवेशनअन्तर्गत आज पहिलो बैठकमा भाग लिने अवसर मिल्यो।कपिलवस्तु जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभाको सदस्यको हैसियतले पहिलोपटक संसदीय अभ्यासमा प्रवेश गर्न पाएकोमा चुनौती र अवसर दुवै सँगसँगै आएको महसुस भएको छ ।

मुलुकको आर्थिक स्थिति, जनताका अपेक्षा, सुशासनको प्रत्याभूति, भ्रष्टाचारको समूल अन्त्य, रोजगारीको सिर्जना, शिक्षा, स्वास्थ्य, कृषि, उद्योगलगायतका क्षेत्रमा व्यापक सुधार गर्दै सुसूचित प्रविधिको उच्चतम प्रयोगका साथै मुलुकलाई द्रुत गतिमा समृद्धितर्फ लैजानुपर्ने स्वदेश तथा विदेशमा रहेका युवाहरूको प्रमुख मागको रूपमा रहेको छ।त्यसका लागि शासकीय सुधार, कर्मचारीतन्त्रमा सुधार, निर्वाचन प्रणाली, संवैधानिक निकायहरूमा नियुक्ति जस्ता विषयहरूमा गम्भीर रूपमा समीक्षा गरी नीतिगत सुधार गर्नुपर्ने भएको छ, जसका लागि पर्याप्त साधन, स्रोत र दक्ष जनशक्तिको आवश्यकता पर्दछ ।

स्नातकोत्तर तह पार गरेका युवाहरू ४८ डिग्रीको तापक्रममा अदक्षको रूपमा श्रम गर्न बाध्य भएका छन् भने उनीहरूले आफ्ना जनप्रतिनिधिसमेत छनौट गर्न पाएका छैनन्।मुलुकमा रोजगारीको अवसर पर्याप्त छैन, ‘मुलुक बन्दैन, यहाँ केही हुँदैन’ भन्ने युवाहरूमा परेका नकारात्मक प्रभाव र भाष्यलाई परिवर्तन गरी ‘मुलुक बन्छ, आजैदेखि बन्न सुरु भयो’ भन्ने देखाउनुपर्ने अवस्थालाई मनन गर्दै संसद्, सरकार र कर्मचारीतन्त्रले इमानदारीपूर्वक काम गर्नुपर्ने भएको छ।त्यसका लागि सरकारको तर्फबाट भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा देखिने गरी सहजता निर्माण गर्दै समृद्धितर्फ तीव्र गतिमा काम गर्ने र संसद्को तर्फबाट आवश्यक नीतिगत सुधारमा लगातार काम गर्नुपर्ने आवश्यकता रहेको छ ।

एउटा जननिर्वाचित प्रतिनिधि तथा विषय विज्ञको हैसियतले विधि निर्माणमा सभा तथा समितिहरूमार्फत काम गर्ने र सरकारलाई जिम्मेवार तथा जवाफदेही बनाउनुपर्ने हुन्छ।त्यसका लागि निरन्तर खट्ने, सरकारलाई जिम्मेवार बनाउने र उपयुक्त कानुनको तर्जुमा गर्ने जस्तो महत्वपूर्ण भूमिका काँधमा आएको महसुस भएको छ।त्यसबाहेक पनि आफ्नो जिल्लाका कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, भौतिक पूर्वाधार विकासलगायतका थुप्रै आवश्यकताहरूको सम्बोधन गर्नुपर्नेछ।म निर्वाचित जिल्ला गौतम बुद्धको राजधानी भएर पनि अन्य जिल्लाको तुलनामा निकै पछाडि परेको छ, त्यस जिल्लालाई न्याय गर्ने दायित्व पनि जनप्रतिनिधिको हो।मेरो आगामी प्रयास एउटा संघीय सांसदको हैसियतले माथि उल्लिखित विषयमा केन्द्रित हुँदै आवश्यकता अनुसार संविधान संशोधन, नीतिगत सुधार, समृद्धि र सुशासन लगायतका विषय विज्ञको रूपमा भूमिका निर्वाह गर्ने हुनेछ ।

दलीय घेराबन्दी तोड्नुपर्नेछ

null
खुश्बु ओली, राप्रपा (समानुपातिक सांसद)

सदनको पहिलो दिनको अनुभव मेरो लागि केही फरक र मिश्रित रह्यो।सत्ता पक्ष र प्रतिपक्ष दुवैतर्फबाट गम्भीर र सार्थक विषयहरू उठाइएका छन्।तर, त्यहाँ मैले एउटा खडकएको कुरा महसुस गरेँ— सदनभित्र अझै पनि दलीय मानसिकताको कडा घेराबन्दी छ।मैले सत्ता पक्षका सांसदले राम्रो कुरा उठाउँदा पनि टेबल ठटाएर समर्थन जनाएँ।तर, केही माननीयज्यूहरूले ‘प्रतिपक्षले सत्ता पक्षको कुरामा त्यसरी समर्थन गर्न मिल्दैन’ भन्नुभयो।यो सुनेर मलाई उदेक लाग्यो।हामी अझै पनि त्यही पुरानो र संकीर्ण राजनीतिक मानसिकताबाट मुक्त हुन सकेका रहेनछौं।राम्रो विचारलाई स्वीकार गर्न पनि दलीय ‘सिल्ड’ चाहिने कस्तो लोकतन्त्र हो यो ? सदनमा विचारको मूल्य, त्यसको गहिराइ र प्रभावले स्थान पाउनुपर्ने हो, तर कुन पक्षबाट आयो भन्ने कुराले प्राथमिकता पाउँदो रहेछ।महावीर पुनजस्ता स्वतन्त्र व्यक्ति बोल्दा केही साथीहरूले समर्थन गर्नुभयो, तर दलकै व्यवस्थाभित्र बसेपछि भने विचारभन्दा पनि दलको नीति नै ठूलो मानिने रहेछ।यो त वास्तविक लोकतन्त्र होइन, यो त हाम्रो सोचलाई अदृश्य रूपमा ‘सेन्सर’ गरिएको जस्तो मलाई महसुस भयो ।

हामी आफूलाई बौद्धिक भन्छौं भने अबको राजनीतिक परिभाषा र शैली बदल्नुपर्छ।राम्रो कुरा जसले उठाए पनि त्यसको पक्षमा उभिन सक्ने र नराम्रो कुराको तर्कपूर्ण विरोध गर्ने परिपक्वता हामीमा हुनुपर्छ।सदनमा बजाइने ताली सर्कसको जस्तो मात्र हुनुहुँदैन, यसले राष्ट्रको मुद्दा र इमानदारितालाई प्रतिनिधित्व गर्नुपर्छ ।पहिलो दिनको अनुभवले मलाई के सिकायो भने— सदनभित्र छिरेपछि हामी कुनै दलको मात्र होइन, राष्ट्रको मुद्दामा केन्द्रित हुनुपर्छ।वेस्टमिनिस्टर प्रणालीको अभ्यास आफ्नो ठाउँमा होला, तर नेपालको अहिलेको आवश्यकता भनेको फराकिलो सोच र साझा एजेन्डामा सहकार्य नै हो ।

उत्साहित र जिम्मेवार पाएँ

null

ध्रुवराज राई, श्रम संस्कृति पार्टी, भोजपुर

भोजपुरे जनताको आशा, भरोसा र श्रम संस्कृति पार्टीको प्रतिनिधिको रूपमा संघीय संसद्को पहिलो बैठकमा सहभागी हुनु मेरो लागि केवल एउटा जिम्मेवारी मात्र थिएन, यो एउटा अत्यन्तै रोमाञ्चक र ऐतिहासिक क्षण थियो।आज धेरैको नजर र चासो एउटै कुरामा थियो— संसद्मा श्रम संस्कृति पार्टीको उपस्थितिले कस्तो सन्देश दिन्छ र यसको प्रस्तुति कस्तो रहला ? आजको बैठकमा हाम्रा आदरणीय पार्टी अध्यक्षले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता र स्वाभिमानको पक्षमा जुन चट्टानी अडान र स्पष्ट वैचारिक मार्गचित्र प्रस्तुत गर्नुभयो, त्यसले एक सांसद र पार्टी कार्यकर्ताको नाताले मेरो छाती गर्वले चौडा भएको छ। उहाँको सम्बोधनले राष्ट्रियताको सवालमा हाम्रो पार्टीको अडान कति प्रष्ट छ भन्ने कुरा प्रमाणित गरेको छ। म यस दिनलाई नेपालको संसदीय इतिहासकै एक गौरवमय दिनको रूपमा लिन्छु।

पार्टी अध्यक्षको ओजपूर्ण सम्बोधनपछि सदनभित्र विभिन्न दलका माननीयज्यूहरूले दिनुभएको बधाई र देखाउनुभएको सद्भावले मलाई थप उत्साहित र जिम्मेवार बनाएको छ। यसले पुष्टि गर्छ— विचार स्पष्ट भयो भने संख्याले मात्र होइन, एजेन्डाले नेतृत्व गर्छ।तर, बैठकको अर्को पाटो भने निकै विडम्बनापूर्ण र निराशाजनक रह्यो। केही दलका प्रतिनिधिहरू जसरी गैरजिम्मेवार र हल्का रूपमा प्रस्तुत भए, त्यसले लोकतन्त्रको सर्वोच्च मन्दिरको मर्यादामाथि नै प्रश्न उठाएको छ।त्यो स्तरको अभिव्यक्तिले मलाई दुःखी बनायो।

धेरै मिहिनेत गर्नुपर्नेछ

nullप्रकाशचन्द्र परियार, रास्वपा (समानुपातिक सांसद)

मेरो संसदीय यात्रा सुरु भयो। यसको गरिमा, मर्यादा र नेपाली जनताको मुहार कसरी फेर्ने भनेर स्वअनुशासनको महसुस भयो। आत्मबोध र अलिकति अध्यात्म पनि फिल भयो। सिक्ने कुरा धेरै भएकाले मिहिनेत गर्नुपर्नेछ। किनभने धेरै आस्थाको कोणबाट हेरिएको छ भन्ने लाग्यो।मैले धेरै मिहिनेत गर्नुपर्छ, सहकार्य र समन्वय गर्नुपर्छ भन्ने लाग्यो ।

संसद्मा २ सय ७५ जना छन्। त्यसैले प्रतिस्पर्धा गर्ने कुरा पनि भयो। प्रतिस्पर्धाका लागि धेरै अध्ययन गर्नुपर्छ, सुझबुझ पुर्‍याउनुपर्छ, सन्तुलन गर्नुपर्छ, अध्ययन, अनुसन्धान गर्नुपर्छ, यी सबै कुराहरू संसद्मा पुग्दा बोध भयो। त्यसैगरी जनताको कुरा ल्याउनुपर्छ भन्ने लाग्यो।एकदमै जिम्मेवारी बोध भयो।त्यहाँ पुग्दा जेन–जी सहिद झल्झली सम्झिएँ। म आफैं पनि जेन–जी विद्रोहमा छोरी लिएर उपस्थित भएको थिएँ ।

हुन त संसदीय रिपोर्टिङ पनि गरेको हुँ, टिभीबाट पनि हेरिन्थ्यो। तर, आफू नै त्यहाँ पुग्दा हाम्रो अनुहारबाट ‘राष्ट्रिय समृद्धिको महायात्रा’ छ भन्ने हुँदो रहेछ। त्यसका लागि जिम्मेवारीबोध हुने रहेछ। संसद्को अन्तर्राष्ट्रिय सिस्टम, शैली, मापदण्ड, मूल्य मान्यता, गरिमा कायम गर्नुपर्छ, धैर्यतापूर्वक सुन्नुपर्ने रहेछ। विपक्षी होस् या जो होस्, उसले राष्ट्र र पार्टीलाई केन्द्र बनाए पनि यो राष्ट्रको लागि बोलेको भन्ने सोच्नुपर्छ जस्तो लाग्यो।

जनताको आवाज बोल्नुपर्नेछ

null
नीता घतानी, एमाले (समानुपातिक सांसद)

प्रतिनिधिसभाको सदस्यका रूपमा आज पहिलो बैठकमा सहभागी भइरहँदा छुट्टै किसिमको आशा, उत्साह र गहिरो अपेक्षा भरिएको पाएँ। विशेष गरी यसपटक युवा माननीयहरूको बाक्लो उपस्थिति देख्दा राजनीति अब वास्तविक रूपमै पुस्तान्तरणको दिशामा अगाडि बढेको संकेत मिलेको छ।संसद्भित्र देखिएको यो नयाँ सोच, नयाँ ऊर्जा र परिवर्तनका आकांक्षाहरूले देशका लागि एउटा सकारात्मक मार्गप्रशस्त गर्ने विश्वास आजको पहिलो दिनको अनुभवले दिलाएको छ । म नेकपा (एमाले)को तर्फबाट प्रतिपक्षको माननीयको रूपमा उपस्थित छु र आजको अनुभवले मेरो भूमिकालाई अझ बढी प्रष्ट पारेको छ। सरकारले गर्ने गलत कामहरूमा हामी खबरदारी गर्दै अगाडि बढ्नेछौं र जनताको पक्षमा सधैं दृढ भएर उभिनेछौं। तर, हाम्रो भूमिका केवल विरोधका लागि विरोध मात्र हुने छैन, देश बनाउने कुरामा र सरकारका राम्रा कामहरूका निम्ति हामी प्रतिपक्षको घेराभन्दा माथि उठेर आवश्यक सहकार्य गर्न पनि उत्तिकै दृढ छौं भन्ने महसुस आजको बसाइले गराएको छ ।

आजको यो सुरुआतले मलाई अझ धेरै जिम्मेवार बनाएको छ। अब संसद्मा मेरो आवाज केवल मेरो व्यक्तिगत आवाज मात्र हुने छैन, यो त मलाई विश्वास गरेर मतदान गर्ने तमाम मतदाताहरू, युवा, महिला र दलित समुदायको साझा आवाज हुनेछ। मैले समग्र युवा, दलित र महिलाहरूको प्रतिनिधित्व गरिरहँदा उहाँहरूका मुद्दालाई सही ढंगले उठाउनु मेरो मुख्य दायित्व हुनेछ। साथै, एउटा मर्यादित र सम्मानित थलोमा पुगेपछि हामीले आफ्नो प्रस्तुति, पहिचान र आचरणलाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्ने रहेछ भन्ने गहिरो बोध भएको छ। समग्रमा, आजको पहिलो बैठक निकै सहजतापूर्वक सम्पन्न भएको छ र यसले समाजमा एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ भन्ने मेरो ठम्याइ छ ।

भक्तपुर–१ सत्तापक्षमा पुगेको ऐतिहासिक अनुभूति

null

रुकेश रञ्जित, भक्तपुर–१ (रास्वपा)

प्रतिनिधिसभाको पहिलो दिन निकै उत्साहप्रद रह्यो। बैठक कसरी सञ्चालन हुने होला भन्ने कौतुहलता थियो। आजको दिनले नयाँ अनुभव र आत्मविश्वास दिलाएको छ। पहिले नै विशेष कार्यसूची प्राप्त भएकाले आज पास गर्नुपर्ने अध्यादेशबारे अन्योलता पनि रहेन। अध्यादेशहरू कसरी प्रस्तुत हुँदा रहेछन् भन्ने जानकारी पनि पहिलो बैठकमै पाइयो।

प्रतिनिधिसभामा प्रतिपक्षी भूमिकामा मात्र सीमित रहेको भक्तपुर–१ को प्रतिनिधित्व समाप्त भई सत्तापक्षमा पुगेको ऐतिहासिक अनुभूतिको अवसर समेत प्राप्त भयो।बैठकको प्रत्येक पल भक्तपुर–१ ले गरेको विश्वासलाई परिणाममा बदल्ने चुनौतीले जिम्मेवारीबोध गराइरह्यो। नीति निर्माणमा योगदान गर्न संसदीय समितिमा जिम्मेवारी पाइनेमा विश्वस्त छु। खासगरी सार्वजनिक लेखा समिति, अर्थ वा उद्योग वाणिज्य समितिमा मेरो दख्खल छ। तर, पार्टीले जुनसुकै समितिमा जिम्मेवारी दिए पनि अध्ययन गरेर देश र जनताको हितको लागि प्रतिबद्धतापूर्वक जिम्मेवारी पूरा गर्नेछु।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दुई दिनको म्याद थप गरेको छ। न्यायाधीश पुरुषोत्तम खतिवडाको एकल इजलासले बिहीबार ओलीमाथि अनुसन्धान गर्न दुई दिनको म्याद थपेको हो। यसअघि अदालतले पाँच दिनको म्याद थपेको थियो। जेनजी आन्दोलन सम्बन्धमा बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा प्रहरीले ओलीलाई गत शनिबार पक्राउ गरेको ...
: गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन नेपाली कांग्रेसले समिति बनाएको छ। कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति बनाएको हो। समितिको सदस्यमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम र युवा अभियन्ता यजश्वी राई छन्। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले ...
: रास्वपा सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति पाएकालाई राजीनामा दिन आग्रह गरेका छन्। आज संसद बैठकमा सम्बोधन गर्दै उनले संविधान र कानुनका आधारमा नेता र पार्टी सिफारिसमा नियुक्ति खाएकालाई स्वैच्छिकरुपमा राजीनामा दिन आग्रह गरेका हुन्। विधिको पालना गर्न आग्रह गर्दै लामिछाने सरकार नयाँ नीति कानुनी मान्यताका आधारमा प्रतिस्पर्धात्मकरुपमा नियुक्ति प्रक्रिया अगाडि बढाउन चाहेकाले मार्ग प्रशस्त ...
: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। मन्त्रालयको बिहीबार बसेको बैठकले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो। विभिन्न मन्त्रालय तथा नगरपालिकामा रहेका कर्मचारीलाई गाउँपालिकामा खटाइएको हो।
: मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका-५ घर भएका ३० वर्षीय शिव बहादुर सारु रहेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई साउदी अरबबाट फ्लाई दुबाइको उडानद्वारा नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको समन्वयमा पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा शिव बहादुरले ह्वाट्सएपमा ...