मुख्य समाचार
मध्यपूर्वमा जारी तनावका कारण विदेशमा मृत्यु भएका ३८ नेपालीको शव नेपाल ल्याउन ढिलाइ
मध्यपूर्वमा जारी तनावका कारण विदेशमा मृत्यु भएका ३८ नेपालीको शव नेपाल ल्याउन ढिलाइ

: मध्यपूर्वमा जारी तनावका कारण विदेशमा मृत्यु भएका ३८ नेपालीको शव नेपाल ल्याउन ढिलाइ भएको छ। अमेरिका–इरान–इजरायल द्वन्द्व सुरु भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि विभिन्न मुलुकमा अड्किएका नेपालीको शव ल्याउन ढिलाइ भएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले युद्धका कारण उडान प्रभावित हुँदा ३८ वटा शव नेपाल ल्याउन ढिलाइ भएको जानकारी दिए। उनका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी ३८ वटा शव नेपाल ल्याउन बाँकी छन्। ‘नियमित उडान हुन थालेपछि ती शवहरू नेपाल ल्याउँछौं,’ उनले भने।

मध्यपूर्व क्षेत्रमा जारी आक्रमणमा परी हालसम्म एक जना नेपालीको मृत्यु तथा २१ जना घाइते भएका छन्। घाइतेहरूको सोही देशमै उपचार गरिएको छ। मृत्यु भएका व्यक्तिको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिसकिएको छ। चैत १८ गते कुवेत एयरवेजबाट ९ वटा शव ल्याइसकिएको छ।


मध्यपूर्वमा जारी तनावका कारण उडान प्रभावित भएपछि विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपालीको शव नेपाल ल्याउन बाँकी छ। जसमा रियादमा १७ र दुबईमा १५ सहित अन्य खाडी मुलुकमा रहेका शवहरू नियमित उडान सहज भएपछि ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
पश्चिम एसियाली देशहरूले अनलाइन गतिविधिमा कडाइ गरेसँगै भ्रमपूर्ण फोटो र भिडियो सार्वजनिक गरेको आरोपमा ११ जना नेपाली पक्राउ परेका छन्। यूएई, साउदी, कतार र ओमानमा पक्राउ परेका उनीहरूलाई कानुनी कारबाही र डिपोर्टसम्मको जोखिम रहेको छ।
युद्घका कारण सिर्जित असहज परिस्थितिबीच सम्भावित उद्घारका लागि ८६,४२० जना नेपालीले कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा आफ्नो विवरण दर्ता गराएका छन्।
पश्चिम एसियामा ११ नेपाली पक्राउ

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पश्चिम एसियाका विभिन्न मुलुकमा हालसम्म ११ जना नेपाली पक्राउ परेका छन्। उनीहरूलाई देशअनुसार फरक–फरक कसुरमा पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेका छन्। युद्धग्रस्त पश्चिम एसियाली देशहरूले सामाजिक सञ्जालमा प्रवाह हुने भ्रमपूर्ण सन्देशहरूमाथि कडाइ गरेका छन्। सामाजिक सञ्जालमा भ्रम फैलाउनेलाई पक्राउदेखि डिपोर्ट (देश निकाला) सम्मका कारबाही हुने गरेका छन्। भ्रमपूर्ण फोटो तथा भिडियो सार्वजनिक गरेको आधारमा उनीहरू पक्राउ परेको परराष्ट्र मन्त्रालयले जनाएको छ। पक्राउ परेकाहरूको कानुनी उपचारका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले आवश्यक सहयोग गरिरहेका छन्।

८६ हजार बढी नेपालीले विवरण टिपाए

जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा रहेका नेपालीहरूको विवरण संकलन तथा सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४ सय २० जनाले आफ्नो विवरण दर्ता गराएका छन्।

पछिल्लो समय आफू असुरक्षित रहेको भन्दै विवरण टिपाउनेको संख्या घट्दो छ। ट्रान्जिटमा फसेका सबै नेपाली नागरिकको व्यवस्थापन भइसकेको छ। कुवेतमा रहेका दुई नेपालीले साउदीको भिसा प्राप्त गरिसकेका छन्, तर व्यक्तिगत कारणले उनीहरू कुवेतमै बसेका छन्। परराष्ट्र मन्त्रालयका मध्य–एसिया, पश्चिम–एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले पश्चिम–एसियाको तनावका बीच नेपालीहरूको सुरक्षा र हितका लागि मन्त्रालयले काम गरिरहेको बताए। ‘उच्चस्तरीय अन्तर–मन्त्रालय अध्ययन कार्यदल गठन गरी काम सुरु भइसकेको छ,’ उनले भने।

तनावग्रस्त क्षेत्रमा आक्रमणको सघनतामा केही कमी आए पनि ड्रोन तथा मिसाइल आक्रमण जारी नै रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार खाडी क्षेत्रमा रहेका नेपालीहरूको रोजगारी तत्काल व्यापक रूपमा गुम्ने जोखिम देखिएको छैन। तर, हस्पिटालिटी र निर्माण क्षेत्रलगायतमा केही असर पर्न सक्ने सम्भावना छ। हालसम्म यूएईमा एक जना नेपालीको मृत्यु भएको छ भने २१ जना सामान्य घाइते भएका थिए, जो उपचारपछि घर फर्किसकेका छन्।

आपत्कालीन उद्धार कक्ष चौबिसै घण्टा सञ्चालनमा

मन्त्रालयमा स्थापना गरिएको आपत्कालीन उद्धार कक्ष चौबिसै घण्टा सञ्चालनमा छ। यसमा हालसम्म ८० वटा फोन कल र दुई जना भौतिक रूपमा उपस्थित भएका सहित करिब दुई सय पटक सम्पर्क गरिएको छ। धेरैजसो गुनासा उडानको अवस्था, फिर्तीको सम्भावना तथा श्रम स्वीकृतिसम्बन्धी रहेका छन्। विभिन्न १० वटै नियोगमा हटलाइन राखिएको छ भने ९ वटा नियोगमा तत्काल उद्धार टोली परिचालन गरिएको छ।

नेपाल एयरलाइन्सको विशेष उडान

पश्चिम–एसियामा रहेका नेपालीहरूको उद्धार र आवागमनलाई सहज बनाउन परराष्ट्रमन्त्रीको निर्देशनमा नेपाल वायुसेवा निगमले विशेष उडान सञ्चालन गर्ने भएको छ। ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं तथा ५ अप्रिलमा काठमाडौं–दमाम–काठमाडौं उडान सञ्चालन हुनेछ। यी उडानमार्फत समस्यामा परेका तथा स्वदेश फर्कन चाहने नेपाली र त्यहाँ रहेका शवहरू पनि ल्याइनेछ।

नियोगहरूको सिफारिसमा अधिकतम पाँच जनासम्मलाई नियमित भाडादरमै टिकट उपलब्ध गराइने व्यवस्था गरिएको छ। रियादस्थित नेपाली राजदूतावासले सम्भावित यात्रुहरूको विवरण संकलनमा सहयोग गरिरहेको छ।

इरानमा रहेका नेपाली सुरक्षित, अमृत झा सकुशल

परराष्ट्र मन्त्रालयका अनुसार इरानमा हाल ११ जना नेपाली रहेका छन् र उनीहरू सबै सुरक्षित छन्। इरानी सेनाले पक्राउ गरेका नेपाली इन्जिनियर अमृत झा सकुशल रहेको मन्त्रालयले जनाएको छ। उनको पक्राउ इरान–अमेरिका तनाव सुरु हुनुअघि नै भएको घटना भएको मन्त्रालयले स्पष्ट पारेको छ। उनी हाल इरानी हिरासतमा छन् र मुद्दा अदालतमा विचाराधीन छ। घटनाको विस्तृत विवरण संकलन तथा आवश्यक सहयोगका लागि पहल जारी रहेको छ।

दोहास्थित नेपाली नियोग तथा इरानस्थित अनररी कन्सुलेटमार्फत काम भइरहेको छ। उनलाई एक जना वकिलले भेटिसकेको र अवस्था सामान्य रहेको जानकारी मन्त्रालयले दिएको छ। दक्षिणपूर्वी एसियामा अवैध अनलाइन स्क्यामिङ परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडियामा पाँच जना नेपाली (ठगी, मानव तस्करी तथा राहदानी अभावसम्बन्धी मुद्दा) पक्राउ परेका छन्।

म्यानमारमा १८ जना पक्राउ परेका छन् र उनीहरूको रिहाइका लागि पहल भइरहेको छ। अवैध अनलाइन स्क्यामिङ केन्द्रहरूबाट कम्बोडियाबाट ४ सय ९, म्यानमारबाट १ सय ११, लाओसबाट ८ र थाइल्यान्डबाट ६ गरी हालसम्म ५ सय ३४ नेपालीको उद्धार गरिएको छ। थप तीन जना आजै आइपुग्ने भएकाले उद्धार हुनेको संख्या ५ सय ३७ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कतारमा ३६ जना नेपाली श्रमिकले ८ महिनादेखि तलब बापत कम्तीमा २ करोड ५ लाख रुपैयाँ पाएका छैनन् । उनीहरु तलबका लागि नेपाली दूतावासदेखि स्थानीय श्रम कार्यालयमा धाइरहेका छन् । एकल स्वामित्वमा रहेको कतारी कम्पनी इन्टरटेक्ट्रा कतार डब्लु एलएलले ८ महिनाको तलब, भत्ता, ओभरटाइम, उपदान र खाना बापतको रकम नदिएको उनीहरुले बताएका छन् । त्यस कम्पनीमा ...
: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’ मा ठगीमा परेका थप ७१ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६१६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्दार कार्य जारी रहेको जानकारी ...
: साउदी अरबमा कार्यरत नेपाली समुदायले नेपाल एयरलाइन्सको नियमित उडान सञ्चालनको माग पुनः उठाएका छन् । श्रमिकहरूको बढ्दो संख्या, यात्रा सहजीकरण, आपतकालीन व्यवस्थापन तथा राष्ट्रिय ध्वजावाहक सेवाको आवश्यकता औँल्याउँदै सरोकारवालाहरूले नियमित उडान विस्तारमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने बताएका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरूका लागि हवाई सेवा केवल यात्राको विषय मात्र नभई आवश्यकता, ...
: जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेन भ्रमण नगर्न र त्यहाँ भएकालाई तुरुन्त नेपाल फर्किन आग्रह गरेको छ । बर्लिनस्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै रुस र युक्रेनबीचको पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै युक्रेन भ्रमणमा जान लागेका नेपालीलाई अर्को सूचना नभएसम्म भ्रमण स्थगित गर्न र युक्रेनमा रहेका नेपालीलाई यथाशिघ्र सकुशल नेपाल फर्किन आग्रह गरेको हो । दूतावासले ...
। यूएईमा रोजगारीको क्रममा विभिन्न समयमा दुर्घटना तथा कार्यस्थलमा ज्यान गुमाएका सयौं नेपाली श्रमिकका परिवार अझै पनि क्षतिपूर्ति र बीमा रकमबाट वञ्चित हुनुपरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) को अवुधावीस्थित नेपाली दूतावासले समयमा काम नगर्दा पीडित परिवार क्षतिपूर्ति र बीमा रकम पाउनबाट वञ्चित भएका हुन् । नयाँ सरकार बनेपछि पनि पीडित परिवारले न्याय नपाएपछि यूएईमा रहेका ...