: विराटनगरको यातायात व्यवस्था कार्यालय परिसरमै सवारी दर्ता किताब (ब्लू बुक) नवीकरणको बहानामा सरकारी छाप र कागजात किर्ते गरी ठगी गर्ने गरिएको पत्ता लागेको छ। ठगीमा संलग्न भएको आरोपमा एक लेखापढी व्यवसायी पक्राउ परेका छन्।
सरकारी छाप किर्ते गर्दै अधिकृतको नक्कली हस्ताक्षर गरी सेवाग्राहीलाई झुक्याएर रकम असुली गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ३७ वर्षीय कमलकुमार स्वर्णकारलाई नियन्त्रणमा लिएको हो। उनी लामो समयदेखि यातायात कार्यालय परिसरमै बसेर लेखापढी तथा कागजात मिलाउने काम गर्दै आएका थिए।
सोही क्रममा सेवाग्राहीहरूको सवारी साधनसम्बन्धी कागजात नवीकरण गर्ने जिम्मा लिएर किर्ते गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार स्वर्णकारले ब्लू बुक नवीकरण गरिदिने भन्दै सेवाग्राहीबाट सवारीसाधनका कागजात र रकम बुझ्ने गरे पनि सरकारी राजस्व यातायात कार्यालयमा नबुझाई आफैंले फर्जी कागजात तयार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सरकारी छाप तथा अधिकृतको हस्ताक्षर किर्ते गरी नवीकरण प्रक्रिया पूरा गरिएको जस्तो देखिने बनावटी कागजात तयार पारिदिने गरेको लामिछानेले बताए।
उनका अनुसार विशेष सूचनाका आधारमा स्वर्णकार चैत १६ गते पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा स्वर्णकारले को ३९ प ९५७९ नम्बरको मोटरसाइकलको ब्लू बुक नवीकरण गर्ने जिम्मा लिएको खुलेको छ। तर, उक्त कागजातमा नक्कली सरकारी छाप र हस्ताक्षर प्रयोग गरी सम्बन्धित सवारी धनीलाई फिर्ता दिएको प्रमाण फेला परेको डीएसपी लामिछानेको भनाइ छ।
त्यस्तै, अन्य सेवाग्राहीहरूका कागजातहरूमा पनि यस्तै प्रकृतिको किर्ते गरिएको प्रहरीको भनाइ छ। सेवाग्राहीबाट नवीकरण शुल्क भन्दै रकम उठाउने तर सो रकम सरकारी राजस्व खातामा नबुझाई आफैं राख्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यसरी तयार पारिएका कागजातमा रसिद नम्बरसमेत फर्जी राखिएको र सरकारी प्रणालीमा कुनै अभिलेख नदेखिएको प्रहरीको भनाइ छ।
डीएसपी लामिछानेले स्वर्णकारीविरुद्ध सरकारी छाप दस्तखत किर्ते गरी ठगी गरेको आरोपमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको बताए। प्रहरीले स्वर्णकारको घरमा खानतलासी गर्दा ११ थान ब्लू बुक फेला पारेको छ। तीमध्ये केही कागजातसमेत शंकास्पद देखिएको र ती पनि नक्कली छाप तथा दस्तखत प्रयोग गरेर नवीकरण गरिएको हुनसक्ने प्रहरीको भनाइ छ।
डीएसपी लामिछानेका अनुसार स्वर्णकारले लामो समयदेखि यातायात कार्यालय परिसरमै बसेर सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क गर्दै सरकारी प्रक्रिया सहज बनाइदिने बहानामा विश्वास जित्दै आएको देखिन्छ। तर, वास्तवमा उनले सरकारी प्रक्रियामा अनधिकृत हस्तक्षेप गर्दै कागजात नै किर्ते गर्ने कार्य गरेको पुष्टि हुँदै गएको छ। प्रहरीले यस घटनालाई गम्भीर प्रकृतिको सरकारी कागजात किर्ते र ठगीको रूपमा लिएको छ। घटनामा अरू व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा पनि विस्तृत अनुसन्धान भइरहेको लामिछानेले बताए।
यातायात कार्यालय जस्तो संवेदनशील सरकारी निकाय परिसरमै बसेर यस्तो प्रकारको अनियमित गतिविधि भएको खुल्नुले सेवाग्राहीको सुरक्षामाथि प्रश्न उठाएको छ। सामान्य नागरिकले सरकारी सेवा लिन जाँदा बिचौलिया र लेखापढी व्यवसायीमार्फत ठगिने अवस्था अझै कायम रहेको पाइएको छ।
प्रहरीले यस घटनाबाट पीडित भएका वा स्वर्णकारमार्फत सवारीसाधन नवीकरण गराएका सेवाग्राहीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ। साथै, उनले कति जनासँग कति रकम असुले र कति कागजात किर्ते गरे भन्ने विषयमा विस्तृत अनुसन्धानपछि यकिन हुने जानकारी प्रहरीले दिएको छ।