: मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र परेको छ । निर्धारित समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा र यात्रुहरूले विशेष गरी वर्षायाममा सास्ती भोग्दै आएका छन् ।
पुल निर्माणमा ढिलासुस्ती भएपछि प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायालगायतको टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि निर्माण कम्पनीलाई काम तीव्र बनाउन कडा निर्देशन दिँदै तीन महिनाभित्र उल्लेखनीय प्रगति देखाउन अल्टिमेटम दिइएको छ ।
सम्झौता अनुसार १६ महिनाभित्र सम्पन्न हुनुपर्ने पुल हालसम्म २१ प्रतिशत मात्र भौतिक प्रगति भएको सडक डिभिजन कार्यालयले जनाएको छ । इन्जिनियर देबेन्द्र स्वारका अनुसार निर्माण ढिलाइ हुनुमा बजेट वा प्राविधिक समस्या नभई ठेकेदारको लापरबाही मुख्य कारण भएको बताए ।
२०७८ कार्तिक १५ गते धनगढीस्थित टिडिआर–जुगल कौशिक जेभीले ५ करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा ठेक्का सम्झौता गर्दै २०७८ फागुन १५ भित्र निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो । तर सम्झौता अवधि सकिएको लामो समय बितिसक्दा पनि काम सम्पन्न हुन सकेको छैन । पटक–पटक ताकेता गर्दा पनि प्रगति नदेखिए पछि आर्थिक वर्ष २०८२ फागुन ३० गतेसम्म म्याद थप गरिएको थियो ।
हालसम्म ९० लाख ५६ हजार रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको भए पनि निर्माण कार्यमा अपेक्षित गति देखिएको छैन । निर्माणस्थलमा राखिएका केही सरिया बाढीले बगाउँदा क्षति पुगेको समेत कार्यालयले जनाएको छ ।
पुल नबन्दा बाउली खोलामा वर्षायाममा पानीको बहाव बढेपछि यातायात पूर्णरूपमा अवरुद्ध हुँदै आएका छन् । बिरामी, गर्भवती महिला तथा आकस्मिक अवस्थामा रहेका नागरिकले समयमै स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै आएका छन् । विद्यार्थीहरू जोखिम मोलेर खोला पार गर्न बाध्य छन् भने कृषकहरूले उत्पादन बजारसम्म पुर्याउन नसक्दा आर्थिक नोक्सानी व्यहोर्नु परेको छ ।
सवारीसाधनहरू खोलाको किनारमै रोकिने हुँदा यात्रुहरू घण्टौँ पैदल हिँड्न बाध्य हुने गरेका छन् । वर्षायाममा दुर्घटनाको जोखिम उच्च रहने गरेको स्थानीय बताउँछन् । पुल अभावले पूर्वी तथा उत्तरी क्षेत्रका चार स्थानीय तहसहित बडीमालिका नगरपालिका–७ र ८ का बासिन्दा तथा हुम्ला, मुगु र कालिकोटका सर्वसाधारण समेत प्रभावित भएका छन् ।
प्रमुख जिल्ला अधिकारी निरौलाले अब पनि काममा प्रगति नभए कानुनी कारबाहीका साथै ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने चेतावनी दिएका छन् । जिल्ला समन्वय समिति प्रमुख रोकायाले पनि ढिलासुस्ती अस्वीकार्य भएको जनाउँदै अनुगमनलाई निरन्तरता दिइने बताए ।
जिल्ला प्रशासन कार्यालय बाजुराले अधुरा रहेका निर्माण आयोजनाहरू समयमै सम्पन्न गराउन समन्वय तीव्र बनाइएको जनाएको छ । यसैबीच, नजिकैको अनाई खोलामा निर्माण गरिएको पक्की पुल भने एक वर्षमै सम्पन्न भई सञ्चालनमा आएको छ । समयमै काम भए विकास सम्भव हुने यसको उदाहरणका रूपमा हेरिएको छ ।