: सरकारी विज्ञापन नीति विरुद्ध खोटाङका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। निजी सञ्चार माध्यमलाई कमजोर बनाउने उद्देश्यले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममै मात्र प्रकाशन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको भन्दै नेपाल पत्रकार महासंघ खोटाङ शाखाले सरकारलाई विरोध स्वरूप १ रुपैयाँ उपहार पठाएको छ।
महासंघका अध्यक्ष हरिबोल आचार्यको नेतृत्वमा शुक्रबार सुरु गरिएको आन्दोलनको पहिलो दिन पत्रकारहरूले खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै १ रुपैयाँ हस्तान्तरण गरेका हुन्।
उक्त कदम सरकारको निर्णयप्रति असन्तुष्टि र व्यंग्यात्मक विरोधका रूपमा लिइएको महासंघले जनाएको छ। अध्यक्ष आचार्यले भने, ‘सरकारको यो निर्णयले निजी सञ्चार माध्यमलाई बन्द गर्ने बाटो खोलेको र प्रेस स्वतन्त्रतामाथि नै गम्भीर प्रहार भएकाले हामीले प्रतीकात्मक रूपमा १ रुपैयाँ उपहार दिएर विरोध जनाएका हौँ।’ उनले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
महासंघ खोटाङकी उपाध्यक्ष सबिना अछामेले जिल्लाका सबै पत्रकार एकजुट भएर आन्दोलनमा उत्रिएको बताउँदै सरकारको निर्णय प्रेसमैत्री नभएको बताएकी छिन्। उनले निजी सञ्चार माध्यमलाई विभेद गर्ने नीति कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिएकी छिन्।
प्रमुख जिल्ला अधिकारी कँडेलले पत्रकारहरूले उठाएका मागहरू सरकारसमक्ष पुर्याइने प्रतिबद्धता जनाएकी छिन्। पत्रकारहरूले सरकारको निर्णय नसच्याए थप सशक्त आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्।