: वैदेशिक रोजगारमा पठाइदिने भन्दै साढे ७३ लाख भन्दा बढी ठगी गर्ने ४ जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारका लागि विभिन्न देशमा पठाउने भन्दै ७३ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सल्यानको कालीमाटी गाउँपालिका-७ का ५२ वर्षीय कर्ण बहादुर राउत, तनहुँको भानु नगरपालिका-१२ का ४२ वर्षीय आनन्द थापा, नवलपरासी पूर्वको कावासोती नगरपालिका-३ का ३९ वर्षीय राधिका पाठक पौडेल र मोरङको सुन्दर हरैचा नगरपालिका-३ का ४७ वर्षीय तिलक परियार रहेका छन्।
राउतले फिनल्याण्ड पठाइदिने भन्दै ११ जनाबाट ५७ लाख, थापाले माल्टा पठाइदिने भन्दै १ जनाबाट साढे ४ लाख, पौडेलले फिनल्याण्ड पठाइदिने भन्दै २ जनाबाट ४ लाख २० हजार र परियारले सर्बिया पठाइदिने भन्दै २ जनाबाट ८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार पीडितको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको उनले बताए।