— नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवस्थित पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा वैसाख १ मा चौंरी पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।
नयाँ वर्षको अवसर पारेर विगत नौ वर्षदेखि आयोजना गरिँदै आएको महोत्सवलाई यो वर्ष पनि निरन्तरता दिइएको हो । हिमाली क्षेत्रमा पाइने चौंरी तथा तिनका प्रजातिसँगै चौंरी र भेडाजन्य उत्पादनको प्रदर्शन र प्रवर्द्धनका लागि यहाँ २०७३ सालदेखि महोत्सव आयोजना हुने गरेको छ ।
फालेलुङ गाउँपालिका मुख्य आयोजक रहेको महोत्सव समुद्री सतहदेखि करिब ३ हजार ५ सय मिटर उचाइँमा अवस्थित फालेलुङ–४ चाररातेमा आयोजना गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले जानकारी दिए ।
महोत्सवको मुख्य आयोजक तथा प्रवर्द्धकहरूले शुक्रबार फिदिममा पत्रकार सम्मेलन गर्दै नवौं संस्करणको चौंरी महोत्सवमा यस पटक ६ सयभन्दा बढी चौंरी र तिनका प्रजातिको प्रदर्शन गरिने जनाएका छन् ।
महोत्सवमा घिउ, छुर्पी, चिजलगायत चौंरीजन्य उत्पादनका स्टल राखिने छ । यसका साथै याक, घोडा चढ्ने जस्ता गतिविधि पनि सञ्चालन गरिने आयोजकले जनाएको छ ।
हिमाली क्षेत्रमा मुख्य आम्दानीको स्रोत चौंरी र तिनका प्रजातिको संरक्षणका साथै चौंरीजन्य उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उपाध्यक्ष जबेगुले बताए । चौंरी पकेट क्षेत्रका रूपमा स्थापित उक्त स्थानमा फालेलुङ गाउँपालिका प्रवर्द्धक रही प्रत्येक वर्ष नयाँ वर्षका दिन चौंरी पर्यटन महोत्सव आयोजना हुँदै आएको छ ।
यस वर्ष महोत्सवका अवसरमा चैत ३० देखि वैसाख २ सम्म तीन दिनको कार्यक्रम तय गरिए पनि मुख्य गतिविधि नयाँ वर्षको पहिलो दिन अर्थात् वैसाख १ मा सञ्चालन गरिने छन् । यस वर्ष आयोजना हुन लागेको महोत्सवलाई ‘नवौं फालेलुङ चौंरी पर्यटन महोत्सव–२०८३’ नाम दिइएको छ । यसको मुख्य आयोजकको भूमिकामा कञ्चनजंघा याक चिज उत्पादक समूह फालेलुङ–४ चारराते रहेको छ ।
फालेलुङ गाउँपालिका मुख्य आयोजक रहेको महोत्सवमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय, पदमार्गमा आधारित पर्यटन विकास परियोजना विराटनगर, कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालय, फालेलुङ पर्यापर्यटन प्रवर्द्धन विकास संस्था, दीप ज्योति युवा क्लब तथा कञ्चनजंघा चौंरीपालक तथा विकास संस्था पाँचथर प्रवर्द्धकका रूपमा रहेका छन् ।
महोत्सवमा नेपालका विभिन्न जिल्लाका साथै भारतको पञ्जाब, पश्चिम बंगाल, कोलकाता तथा भुटान हुँदै विभिन्न मुलुकबाट गरी पाँच हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा, घोडचढी, याकचढी, चौंरीपालकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, याक डान्स तथा हुर्तुक पड्काउने कार्यक्रमसमेत सञ्चालन गरिनेछन् । ३ हजार ४ सय मिटर उचाइमा आयोजना गरिने फुटबल प्रतियोगिताका विजेताले ४० किलो र उपविजेताले २० किलो चौंरीको घिउ पुरस्कार स्वरूप प्राप्त गर्ने आयोजकले जनाएको छ ।