— सरकारले विद्यार्थी संगठन खारेज गर्ने तयारीको एमालेले विरोध गरेको छ । कार्यवहाक अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले त्यसको विरोध गरेको छ ।
‘बैठकले वर्तमान सरकारको विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ र सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ,’ एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमा भनेका छन् । सरकारले जारी गरेको एक सय कार्यक्रममा विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यामलाई दिने सरकारको निर्णयप्रति पनि एमालेले आपत्ति जनाएको छ । ‘सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमहरुलाई मात्र दिने सरकारको निर्णयप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको छ र यो निर्णय तत्काल फिर्ता लिन माग गरेको,’ एमालेले माग गरेको छ ।
सरकारले बिहीबार सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यामलाई मात्र दिने निर्णय गरेको थियो ।