मुख्य समाचार
जहाँ नागरिक छन्, त्यहींबाट मतदानको व्यवस्था गर्न माग
जहाँ नागरिक छन्, त्यहींबाट मतदानको व्यवस्था गर्न माग

: नेपालभित्रै रहेका लाखौं नागरिक मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेको भन्दै कर्णालीका युवाहरूले जहाँ नागरिक छन्, त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था लागू गर्न माग गरेका छन् । कर्णालीका सबै जिल्लाबाट प्रतिनिधित्व गर्ने अगुवा युवा समूहले शुक्रबार निर्वाचन आयोग नेपालमा विस्तृत ज्ञापनपत्र पेश गर्दै निर्वाचन प्रणालीमा सुधारको माग गरेका हुन् ।


उक्त समूहले नेपालको निर्वाचन प्रणालीमा देखिएका समस्या, घट्दो मतदाता सहभागिता तथा सुधारका सम्भावित उपायहरू समेटिएको ज्ञापनपत्र निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी समक्ष बुझाएको उक्त टोलीका अगुवा आशिष देवकोटाले जानकारी दिए ।

ज्ञापनपत्रमा आर्थिक अभाव, समयको कमी, झन्झटिलो प्रक्रिया तथा लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यताका कारण आफूहरू मतदानबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ । विशेष गरी कर्णाली, सुदूरपश्चिम तथा अन्य दुर्गम क्षेत्रका नागरिकहरूका लागि मतदान प्रक्रिया अझै कठिन रहेको भन्दै राज्यले नै उनीहरूलाई मताधिकार प्रयोग गर्नबाट वञ्चित गरिरहेको आरोप ज्ञापन पत्र बुझाउन पुगेका युवाहरुले गरेका छन् ।



पछिल्ला वर्षहरूमा मतदाता सहभागिता घट्दै गएको तथ्य प्रस्तुत गर्दै २०७० सालमा ७४ प्रतिशत रहेको सहभागिता २०८२ सम्म आइपुग्दा करिब ५८ प्रतिशतमा झरेको उल्लेख गरिएको छ । कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लामा भने यो दर ५० प्रतिशत हाराहारीमै सीमित रहेको जनाइएको छ, जुन गम्भीर चिन्ताको विषय भएको युवाहरूको भनाइ छ ।

समूहका संयोजक आशिष देवकोटाका अनुसार समस्या विदेशमा रहेका नेपालीहरूमा मात्र सीमित नभई देशभित्रै रहेका नागरिकहरूमा अझ गम्भीर छ। उनले मुगु, डोल्पा, जुम्ला, बाजुरा र हुम्ला जस्ता जिल्लाका नागरिकलाई मतदान गर्न आउन–जान मात्रै प्रतिव्यक्ति २५–३० हजार रुपैयाँसम्म खर्च लाग्ने अवस्था रहेको बताए ।

उनले भने, ‘यहाँ उपस्थित २० जना युवामध्ये एक जनाले मात्र मतदान गरेका छन्, बाँकी १९ जनाले आफ्नो अधिकार प्रयोग गर्न सकेनन् । यो लोकतान्त्रिक प्रणालीका लागि गम्भीर प्रश्न हो ।’ ज्ञापनपत्रमा विद्यार्थी, रोजगारीमा रहेका युवा तथा आन्तरिक बसाइँसराइका कारण स्थायी ठेगाना भन्दा टाढा रहेका नागरिकहरू पनि मतदानबाट वञ्चित भइरहेको उल्लेख गरिएको छ । बिदा नपाउने, लामो दूरीको यात्रा तथा जटिल प्रक्रिया मुख्य कारणका रूपमा औंल्याइएको छ ।

युवाहरूले राजनीतिक दलहरूले दुर्गम क्षेत्रका मतदातालाई मतदानका लागि ठूलो रकम खर्च गर्ने र मत किनबेच जस्ता गतिविधि भइरहँदा पनि सम्बन्धित निकाय मौन बसेको आरोप समेत लगाएका छन् । यस समस्याको समाधानका रूपमा युवाहरूले विभिन्न वैकल्पिक मतदान प्रणालीहरू लागू गर्न प्रस्ताव गरेका छन् ।

तीमध्ये अग्रिम मतदान, अनुपस्थित मतदान, अस्थायी मतदान केन्द्र, मोबाइल मतदान सेवा, हुलाकमार्फत मतदान, कार्यस्थलमै मतदान, मतदान बिदा नीति, यात्रा सहयोग, डिजिटल मतदाता अद्यावधिक प्रणाली तथा विद्युतीय मतदान (इ–भोटिङ) जस्ता उपायहरू समावेश छन् ।

ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय अभ्यास पनि प्रस्तुत गरिएको छ । अस्ट्रेलियामा ९०–९५ प्रतिशत, जर्मनीमा ७०–७५ प्रतिशत, भारतमा करिब ६७ प्रतिशत र एस्टोनियामा डिजिटल मतदानपछि करिब ६३ प्रतिशत सहभागिता रहेको उल्लेख गरिएको छ । दक्षिण एसियामा माल्दिभ्समा ८९ प्रतिशत सहभागिता रहेको उदाहरण दिँदै नेपाल अझै पछाडि रहेको जनाइएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मतदान अधिकार विस्तारसम्बन्धी विधेयक विगत तीन वर्षदेखि गृह मन्त्रालयमा रोकिएको जानकारी दिए । उनले दुर्गम क्षेत्रका मतदाताको कम सहभागिताप्रति आफूहरू पनि चिन्तित रहेको जनाउँदै यसका लागि सरकार र सम्बन्धित निकायको सहकार्य आवश्यक पर्ने बताए ।

यसैबीच, युवाहरूले उक्त विधेयक शीघ्र पारित गर्न सरकारसँग माग गरेका छन् । निर्वाचन आयोगले भने आगामी निर्वाचनको समीक्षा गर्दै आवश्यक नीतिगत तथा संरचनात्मक सुधार अघि बढाउने प्रतिबद्धता जनाएको छ । कानुनी व्यवस्था बनेमा सबै नागरिकलाई सहज रूपमा मतदान अधिकार सुनिश्चित गर्ने संकेत पनि दिएको छ । साथै, विद्युतीय मतदान प्रणाली लागू गर्दा साइबर सुरक्षा, डाटा गोपनीयता, पारदर्शिता र विश्वासनीयतामा विशेष ध्यान दिनुपर्ने विषयमा पनि जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेतर्फ ...
— नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । 'बिदा पायौं भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान ...
— सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी ...
— कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्णयमा पुगेका छन् । उनीहरूले पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतबार पेसी तोकेकाले त्यतिन्जेल पर्खने निर्णय कोइराला पक्षधर नेताहरूले यसअघि नै गरेका थिए । तर अदालतले आइतबार पेसीमा नचढाई ...
: नवनियु्क्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आफ्नो कुनै देशको पीआर नभएको दाबी गरेका छन्। उनले आफूसँग संवैधानिक नियुक्तिका लागि अयोग्य हुने कुनै भिसासमेत नभएको अन्नपूर्णसँग बताएका हुन्। गैरआवासीय नेपाली संघ बेलायतका पूर्वउपाध्यक्ष बनिसकेका कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्ता पदमा नियुक्ति दिएपछि पीआरसमेत रहेको भन्दै चर्चामा आएपछि उनले प्रतिक्रिया दिएका हुन्। उनले आफू ...