: कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यो संसद जनताको मुद्दामा केन्द्रित, समाधान उन्मुख र स्पष्ट रूपमा परिणाममुखी बन्नुपर्ने बताएकी छन्। डिपी अर्याललाई सभामुख बनाउने प्रस्तावको समर्थनमा बोल्दै उनले संसद जनताको अपेक्षाको साँचो प्रतिविम्ब बन्नुपर्ने बताएकी हुन्।
‘यसपटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छ; यो संसद जनताको मुद्दामा केन्द्रित, समाधान उन्मुख र स्पष्ट रूपमा परिणाममुखी बन्नैपर्छ। यहाँ नयाँ उर्जासहित आएका सांसदहरू र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको उपस्थिति छ, जसले मिलेर संसदलाई अझ परिपक्व बनाउन सक्छ। तर हामीले बुझ्नैपर्छ कि लोकतन्त्र केवल भाषण र बहसले होइन, परिणामले बलियो हुन्छ।’ उनले भनिन्, ‘स्वस्थ बहस आवश्यक छ, तर बहस केवल बहसमै सीमित रह्यो भने यसले जनताको विश्वास कमजोर बनाउँछ। त्यसैले यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्छ, ताकि संसद जनताको अपेक्षाको साँचो प्रतिविम्ब बन्न सकोस्।’
उनले २०८२ को निर्वाचनले संसदको स्वरूप मात्र नभई देशको मनोविज्ञान नै बदलिएको सन्देश दिएको बताइन्। उनले भनिन्, ‘धेरै नयाँ अनुहारहरू यस संसदमा प्रवेश गरेका छन्, तर यी अनुहारहरू केवल व्यक्तिहरू होइनन्-यी परिवर्तनको आकांक्षा बोकेर आएका जनमतका प्रतिबिम्ब हुन्।’null
गौतमले डोलप्रसाद अर्याल निर्विरोध रूपमा निर्वाचित हुनु आफैमा यस सदनको सामूहिक विश्वासको स्पष्ट अभिव्यक्ति भएकी दाबी गरिन्। उनले भनिन्, ‘यो केवल निर्वाचनको परिणाम होइन, यो सदनले तपाईंमाथि राखेको भरोसाको घोषणापत्र हो। अब त्यो विश्वासलाई संस्थागत गर्ने, संसदलाई गरिमामय, निष्पक्ष र प्रभावकारी बनाउने जिम्मेवारी तपाईंको काँधमा आएको छ। म विश्वास गर्दछु कि तपाईंको नेतृत्वमा यो संसद बहसको सशक्त मञ्च बन्नेछ, जहाँ जनताको मुद्दा केन्द्रमा रहनेछ, बहस तथ्यमा आधारित हुनेछ र त्यही बहसबाट स्पष्ट नीतिगत निष्कर्ष निस्कनेछ, जसले सरकारलाई सही दिशामा मार्गनिर्देशन गर्नेछ।’
संविधान जारी भएको वर्षौं बितिसक्दा पनि अझै धेरै कानुनहरू निर्माण हुन बाँकी रहेको उनको भनाई छ। ‘कानुनी आधारको अभावकै कारण जनताले पाउनुपर्ने सेवा सहज रूपमा प्राप्त गर्न सकेका छैनन्, र यो केवल प्रशासनिक कमजोरी मात्र होइन, विगतका संसदहरूको अपूर्ण दायित्वको परिणाम पनि हो।’ उनले भनिन्,‘यसपटकको संसदको स्पष्ट जिम्मेवारी छ-कानुनी रिक्तता अन्त्य गर्ने, शासनलाई प्रभावकारी बनाउने र सरकारलाई जवाफदेहिताको कसीमा राख्ने। अब ढिलाइको संस्कार तोड्नैपर्छ, निर्णय गर्ने साहस देखाउनैपर्छ र काम गर्ने संसदको पहिचान स्थापित गर्नैपर्छ। र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतले म सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रियालाई तीव्रता दिने दृढ प्रतिबद्धता व्यक्त गर्दछु।’
उनले यसपटकको संसद केवल दलहरूबीचको प्रतिस्पर्धाको मञ्च मात्र नभई हाम्रो पुस्तामाथि आएको ऐतिहासिक जिम्मेवारीको परीक्षा रहेको टिप्पणी गरिन्। ‘हामीले आउने पुस्ताको भविष्य सुरक्षित गर्न सक्छौँ कि सक्दैनौँ, हामीले नेपालको मार्गदर्शन सही दिशामा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुराको निर्णय यहीँबाट हुनेछ। यदि हामी यस क्षणमा चुक्यौँ भने इतिहासले हामीलाई माफ गर्ने छैन। यदि हामी जनताको मुद्दाबाट टाढा भयौँ, यदि तथ्यभन्दा भावनामा अल्झियौँ, यदि अनावश्यक विवादमा समय खेर फाल्यौँ भने यो संसद आशाको प्रतीक बन्ने छैन, बरु निराशाको उदाहरण बन्नेछ।’मन्त्री गौतमले भनिन्, ‘हाम्रो बोली संयमित हुनुपर्छ, हाम्रो व्यवहार मर्यादित हुनुपर्छ, हाम्रो बहस तथ्यमा आधारित हुनुपर्छ र हाम्रो लक्ष्य स्पष्ट हुनुपर्छ, जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने। किनकि संसद केवल बोल्ने थलो होइन, निर्णय गरेर देशको दिशा निर्धारण गर्ने जिम्मेवार संस्था हो, र हामी सबैले यस जिम्मेवारीलाई पूर्ण गम्भीरताका साथ निर्वाह गर्नैपर्छ।’