: गुल्मीमा पिकअप बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्लाको गुल्मी दरबार गाउँपालिका-४ वीरवास मिसुकामा लु १ च ४९०६ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटनामा स्थानीय ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए। घाइते भएका उनीहरूको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।
दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइते हुनेहरूमा जमुना ढेंगा, सुमित्रा ढेंगा, पार्वती ढेंगा, खगी ढेंगा, पम्फा ढेंगा, कुमारी पुन, निर्मला ढेंगा, चाया ढेंगा, माया ढेंगा, जमुना ढेंगा र नैना ढेंगा रहेका छन्।
घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार जिप ब्रेक फेल भई स्थानीय घरमा ठोकिँदा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।