: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डीपी अर्याललाई सदनलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेका छन्। आइतबार अर्यालले सभामुखको पदबहाली गरेपछि विज्ञप्ति जारी गरेर सभापति लामिछानेले सदनको कामकारबाहीमा कुनै असर बाँकी नराख्न आग्रह गरेका हुन्।
'नवनिर्वाचित सम्माननीय सभामुख श्री डोलप्रसाद अर्यालज्यूले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढंगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ गर्ने दिशामा उहाँले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्नु हुनेमा म विश्वस्त छु। साथै, सबै राजनीतिक दल तथा माननीय सांसदहरूसँग सहकार्य र समन्वय गर्दै संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने उहाँको दृष्टिकोण सराहनीय छ,' लामिछानेले विज्ञप्ति जारी गरेर भनेका छन्।
सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्परा अनुरूप उम्मेदवारी दिएदेखि नै पार्टीका जिम्मेवारीबाट अलग रहँदै अर्यालले उच्च राजनीतिक नैतिकता र संस्थागत प्रतिबद्धता प्रदर्शन गरेको उनको भनाइ छ। 'यस ऐतिहासिक अवसरमा, सभामुखको हैसियतमा उहाँले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु,' उनले भनेका छन्।